
सनत अधिकारी
सुशासन एक सामाजिक राजनितीक प्रणालीको सभ्य संयोजन हो । जसबाट राम्रो परिणाम प्राप्तिको कामना गरिन्छ ।जहाँ आर्थिक पारदर्शिता जवाफदेहिता अनि कानुनी शासन , र नागरिक सहभागिताको अपेक्षा गरिएको हुन्छ ।
कुनैपनि राज्य ब्यवस्था सुशासनको जगमा अडेको हुन्छ।परापुर्व कालदेखि चलिआएको राज्यको शासन संचालनका विधि र पद्धति परंपरामा आधारित हुन्छ , समयानुकूल परिवर्तन गरिंदै लैजानुपर्छ जुन राज्य संचालनका उच्च ओहदामा पुगेका ब्यक्तिको चातुर्यता र कौशलतामा निर्भर हून्छ।
मानव चेतनाको बिकास क्रमसँगै अझ परिस्कृत सरल अनि सर्वमान्य सिद्धान्तुमा आधारितभई जनताको हितलाई सर्बोपरि ठानी संचालन गरिने शासन पद्धतिको सबैले अपेक्षा गरेका हुन्छन् । दम्भ अहंकार अनि नैतिक धरातलबाट स्खलित शासकहरुको दीर्घसेवा अनिश्चित हुन्छ । मानव स्वयं चेतनशील प्राणी भएकाकारण पल पलमा परिवर्तन खोजी रहन्छ जहाँ सुख रआनन्दको अनुभुती गर्नपाईयोस , शास्त्रमा भनिएको छ
क्षणे क्षणे यन्नवता मुपैति ।
तदेव रुपं रमणीयताया ।।
छिन छिनमा जहाँ नविनता हुन्छ , त्यहाँ रमाइलो हुन्छ ।
पुर्वजहरुको अदम्य साहस , बुद्धिमत्तापूर्ण निर्णय अनि राष्ट्रप्रेमका कारण नेपाल र नेपालीको गौरवमय ईतिहास बोकेको राष्ट्र नेपाल हामीलाई सुम्पेका छन । यो गरिमालाई अक्षुंण राख्नु वर्तमान र भावी पिंढिको प्रमुख दायित्व हो ।
हामी भर्खरै एउटा कहालीलाग्दो आन्दोलन बाट तङ्ग्रिई सकेका छैनौ । अर्कोतिर दुई ठुला शक्तिशाली छिमेकीको बीचमा अवस्थित भएका कारण बुद्धिमत्तापुर्ण कुटनैतिक चातुर्यता आजको आवश्यकता हो । यो देशलाई कसरी अगाडिबढाउने भन्ने सोच अब पलाउनै पर्छ ।
सन १९७५भन्दा अघि सिक्किम नेपाल जस्तै स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रुपमा अवस्थित थियोे । त्यहाँ छ्योगेल राजा थिए । शान्त सौम्य पर्यावरणयुक्त हिम शृङ्खला र हरियाली पहाडी सौन्दर्यताले भरिपुर्ण देशलाई आफ्ना निहित स्वार्थमा प्रेरित भई तत्कालीन प्रधानमन्त्री काजी लेण्डुप दोर्जेले मुख्यमन्त्रीको लोभमा छिमेकी राष्ट्र भारतलाई बुझाए । उनी एक निन्दनीय ईतिहास बनेका पात्र हाम्रा सामु छर्लंग छ ,।
बि सं २०२५ सालमा नेपालको जेलबाट मुक्त भएपछि भारतमा निर्वासित जीवन बिताईरहेका नेपाली काँग्रेसका तात्कालिन नेता बिश्वेश्वरप्रसाद कोईरालालाई सिक्किम बिलय भएपछि देश प्रेम अनि सार्वभौमसत्ता बचाउनुपर्छ , बरु आफ्ना राजनितीक मुद्धा तत्कालकालागी थाती राखौ भन्ने सोच लिएर २०३३साल पौष १६ गते राजा विरेन्द्र सँग समझदारी गरि मेलमिलाप निति लिएर नेता गणेशमान सिंह लगायत स्वदेश फर्केका ईतिहास छ । हालसम्म पनि नेपाली काँग्रेसले पौष १६ गते राष्ट्रिय मेलमिलाप दिवशका रुपमा कार्यक्रम गर्दै रहेको छ।
अलिकति विश्व तिर ।
दोश्रो बिश्वयुद्ध पछि ई सं १९८९ तिर मध्यपुर्व युरोप साथै अमेरिका र सोभियतसंघ बीच विध्धमान शासनब्यवस्था प्रतिको असन्तुष्टि बाटउत्पन्न शक्ति संघर्षका कारण चलिरहेको शीतयुद्ध अन्तगर्ने उद्देश्यले तत्कालिन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले एक शिखर सम्मेलनको आयोजना गरि सोभियतसंघका राष्ट्रपति मिखाईल गोर्वाचोभलाई निमन्त्रणा गरे ।,सम्मेलनमा खुला राजनीतिक र आर्थिकसामाजिक दिशातिर अग्रसरहुने भन्ने निर्णय भयो । शिखरसम्मेलनबाट फर्के लगत्तै गोर्भाचोभले आन्तरिक निर्णयगराई खुलाअर्थनिति र खुला राजनितीक ब्यवस्था लागुगर्न ग्लास्नोस्त र पेरेस्त्रोईका निति अवलम्बन गर्ने निर्णय गरि लागुगर्न आदेश दिए । जसका प्रभावले युक्रेन लगायत केहि देशहरुले सोभियतसंघबाट अलगभएको घोषणागरे ।मध्य पुर्वी युरोपमा यसको ठूलोप्रभावपर्यो रोमानिया लगायत मध्यपुर्वका धेरै राष्ट्रहरू खुला राजनीतिक पद्धतितर्फ अग्रसर भए । लोकतन्त्र बहाली को ढोका खुल्यो ।आर्थिक समुन्नति गर्नकालागी यतिठूलो कदम बिशेष परिस्थितिमा उठाएका कारण गोर्वाचोभ नोवेल शान्ति पुरस्कारबाट सम्मानित भए । पछि उनले पद पनि त्यागगरे ।
ई सन १९७९मा पाकिस्तानमा त्यहाँका सरकार प्रमुख जुल्फिकर अलि भुट्टोलाई त्यहाँको सेना प्रमुख ले झुट्टो मुद्दालगाई फाँसीको सजाय दिए। यसको बिरोधमा प्रजातान्त्रिक मुलुकहरूमा बरोधका कार्यक्रमहरु शुरुभए ।असर नेपालमा पनि पर्यो । नेपालमा त्यही बर्ष २०३६सालमा बिध्यार्थीहरुले प्रदर्शन गरे देश आन्दोलित भयो राजा विरेन्द्रले सहजरूपमा ,जनमतसंग्रह घोषणा गरे मतदानमा पंचायति ब्यवस्थाले बिजय हाँसिल गर्यो ।
ई सन१९८९ मा मध्यपुर्व युरोपामा भएको राजनीतिक परिवर्तनको प्रभाव नेपालमा नपर्ने कुरै भएन बि सं २०४६सालमा पंचायति ब्यवस्थाको बिरोधमा नेपालमा पुनःआन्दोलनगर्ने भनि ७ सात वामपन्थीदलहरू मिलेर मोर्चाबन्दी गरि वाममोर्चा बनाए अनि नेपालीकाँग्रेससँग मिलेर संयुक्त जनआन्दोलन गर्ने निर्णय गरे ।स्व गणेशमान सिंहको घर चाक्सिबारीमा भएको सम्मेलनले २०४६रफाल्गुन र७ गतेबाट आन्दोलन गर्ने निर्णय गर्यो, आन्दोलन सफल भयो ।२०४६चैत्र २६गते राति संबैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्र रहनेगरि संविधान निर्माणगर्ने समझदारी बनेको राजा बिरेन्द्र बाट घोषणा भयो ।संविधान निर्माणकार्य सम्पन्न पछिको निर्वाचनबाट नेपाली काँग्रेसले बहुमत प्राप्तगरि गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा सरकार बन्यो ।जनताले आर्थिक सामाजिक परिवर्तनको ठुलै अपेक्षा राखेका थिए ।जनता असन्तुष्ट नै रहे ।
पनः२०५२ मा गणतान्त्रिक साशन पद्दतिको प्रमुख माग राखि नेपालका माओवादीहरुले सशस्त्र बिद्रोह शुरु गरे १० बर्ष द्वन्द्व चल्यो , १७०००नागरिकको ज्यानगयो , अन्ततः २०६२ सालमा शान्ति समझौतामा हस्ताक्षर पछि द्वन्द स्थगन त भयो तर बिस्तृत शान्ति समझौता बमोजिम गठित सत्यनिरुपण तथा मेलमिलापआयोगको प्रतिवेदन कार्यान्वयन नहुँदा पिडितहरुबिचल्लीमा छन । न्याय मागि रहेका छन ।ब्यवस्था फेरियो अवस्था उस्तै रह्यो । सरकार फेरबदलको क्रम तिब्र भयो ,अपेक्षित उपलब्धि हाँशिल हुनसकेन । भौंतिक निर्माणका कामहरु धेरै भएका छन तथापि जन अपेक्षा पुरा हुनसकेका छैनन् ।
स्वास्थ्यक्षेत्रमा केहि सुधारका लक्षण देखा परेतापनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा अपेक्षाकृत उपलब्धि हुनसकेन , छिमेकी मुलुक भुटानमा नागरिकको शिक्षा र स्वास्थ्य पुर्णरुपमा सरकारले निशुल्क गरिदिएकोछ भन्ने त्यहाँको मन्त्रिपरिषद सदस्य नेपाल आएका बखत ब्यक्त बिचारले पनि पुष्टि गरेको छ। , नागरिकका प्रत्यक्ष प्राप्त हुनपर्ने नैसर्गिक अधिकार भित्र पर्ने बिषय हुन यी । जुन बिषयमा जनताको ठुलो धनराशि खर्च हुने गर्छ । अर्को महत्वपुर्ण बिषय हो रोजगारकोअवसर ।
बिगतका दशकतिर ग्रामीण जीवन निजी कृषिपेशामा निर्भर रहेको थियो । खान, लगाउन, अौषधि उपचार, चाड पर्व ,पाहुना पासा साथै भैपरिआउने ब्यवहारिक जीवनका सम्पूर्ण खर्चको श्रोत कृषि उत्पादनमा निर्भर थियोे । वर्तमानमा परिस्थिति फरक छ। नागरिकहरू शिक्षित भए , थोरै श्रमबाट धेरै आर्जन गर्ने । (यावत जिवेत सुख जिवेत ) को पद्धति तिर आकर्षित भएका छन ।
परंरागत पद्धति प्राय हराई सकेको अवस्था छ । योग्यता र बौद्धिक क्षमताको विकास भएकोकारण नयाँ अवसरको खोजीमा युवापिंडि अग्रसर छन । राज्यले उनिहरुको चाहना पुरागर्न नसकेको प्रति उनिहरुको रोष चुलिएको छ,भ्रष्टाचार र अनियमितताका सहस्र घटनाका समाचार संचारमाध्यम र अखवारहरुमा हेर्न सुन्न पाईन्छ यस्ता कैयन कारणले राजनीतिक दलहरूप्रतिको अविश्वासको बढदो आवेगको प्रस्फुटन जेन जेडको प्रदर्शन हो ।
सुशासन दिने सवालमा नै मिखाईल गोर्वाचोभले ठुलै मुल्यचुकाएर ग्लासनोस्त र पेरेस्त्रोईका निति अवलम्बन गरे ।स्व वि पी कोईरालाले मेलमिलापको निति लिए ,स्व राजा विरेन्द्रले संवैधानिक राजतन्त्रको भुमिकामा रहने निर्णय गरे ,पुर्वराजा ज्ञानेन्द्रले गणतान्त्रिक साशन पद्धति स्वीकार गरे आफ्ना निजि चाहना र ईच्छा भन्दा राष्ट्रिय स्वार्थ लाई सर्वोच्च स्थान दिनपर्छ ।
राष्ट्र र राष्ट्रियता प्रति वर्तमान साशकहरुले गरेको उपेक्षाका कारण सिर्जित विध्यमान बिषम परिस्थितिको निराकरण हुनैपर्छ अन्यथा मुलुक बिखण्डन हुने वा सार्वभौम गुमाउनु पर्ने सम्मको दुर्दशा भोग्नुपर्ने दिन आउन सक्छ ।लि कुआन यु ले २०बर्षमा सिंगापुर बनाए ,माहाथिर मोहम्मदले मलेसिया बनाए भन्ने सामाजिक सञ्जालमा पढ्न पाईन्छ तर जननिर्वाचित सरकार आएको ३५बर्ष बितिसक्दा पनि नेपालमा सन्तोषजनक उन्नति देखिंदैन , जनता बिक्षिप्त छन ,उत्तरदायित्व कस्ले लिने चिन्ताको विषय छ।
आन्दोलनपछि मुलुक निर्वाचन तिर उन्मुख भएको छ,दलहरु परिमार्जित परिस्कृत रुपमा प्रस्तुत हुने आन्तरिक अभ्यासतिर लागेकाछन् । तर के अबको निर्वाचन पछि जनताका अपेक्षित आशामा प्रतिबिम्बित नतिजा आउला रु विभिन्न कोणबाट आएका प्रस्ताव र मागहरू सम्बोधन हुन सक्ला रु प्रतिक्षाको बिषय छ । संविधानसभाको निर्वाचनका समयदेखिनै उठेका
संवैधानिक राजसंस्था र हिन्दुराज्यको माग अझ गहनरुपमा चर्किंदो अवस्थामा छ , प्रदेश सरकारप्रतिको बिमति र समानुपातिक प्रणाली मुलुककालागी थप बोझिलो भारी बनेको छ । यस सम्बन्धमा जनमतसंग्रह बाट निरुपण गरि दिगो स्थिरता दिनसक्ने हो भने मात्र कुनै कोणबाट पनि प्रश्न उठाउने ठ।उँ नरहनला । सबै उमेरसमुह, वाद र राजनितीक बिचारको सम्बोधन हुन सक्ला । अन्यथा देशले अझ बिकटपरिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ । अस्तु । ।
माथिका पंक्ति मेरा नितान्त ब्यक्तिगत बिचार भएकोले बिमति जनाउने अधिकार स्वतन्त्र रहनेछ धन्यवाद ।
मेचिनगर ४ झापा



