खबरहेड लाइन

निर्वाचन प्रचारलाई मितव्ययी बनाउन आग्रह

तस्बिर सौजन्य : निर्वाचन आयोग

काठमाडौँ, फागुन २ गते । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रचारप्रसारमा अनावश्यक खर्च नगरी मितव्ययिता अपनाउन र बैङ्क खातामार्फत मात्रै आर्थिक कारोबार गर्न राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार विषयक मुख्य प्रशिक्षक प्रशिक्षण कार्यशाला’ मा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । निर्वाचनमा हुने खर्च विवरण व्यवस्थित गर्न पनि बैङ्क अनिवार्य रहेको उहाँले उल्लेख गर्नुभयो । “मितव्ययी निर्वाचन होस्, खर्च बढी भयो रोकिनु प¥यो भनेर हरेक उम्मेदवारले भन्नुहुन्छ”, उहाँले भन्नुभयो, “अनावश्यक खर्च गर्ने होइन, नीति कार्यव्रmम बनाएर मतदाताको मन जित्नु पर्छ ।” निर्वाचनलाई भड्किलो र खर्चिलो नबनाएर मितव्ययी बनाउन उहाँले उम्मेदवारलाई अनुरोध गर्नुभयो ।

राष्ट्रलाई गुण लगाउने दायित्व बोकेको निर्वाचन आयोग र सञ्चार क्षेत्र एकै सिक्काका दुई पाटा रहेको प्रसङ्ग उल्लेख गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आसन्न निर्वाचन स्वतन्त्र, स्वच्छ, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी पनि दुवै निकायको रहेको उल्लेख गर्नुभयो । सफल निर्वाचनबाट नै मुलुकमा जननिर्वाचित सरकार स्थापना हुने र त्यसले नै सुशासन कायम गर्ने हुँदा यसका लागि सञ्चार क्षेत्रले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।

जेनजी विद्रोहको परिणामस्वरूप मुलुकमा सुशासन कायम गराउने एक मात्र विकल्प ताजा जनादेश र नयाँ सरकार रहेको पनि उहाँले स्पष्ट गर्नुभयो । “अब १९ दिन मात्रै बाँकी छ, जसरी पनि निर्वाचन सम्पन्न गर्ने दायित्व लिएर आयोग अगाडि बढेको छ, यही एक मात्र लक्ष्य र अर्जुनदृष्टि छ,” उहाँले भन्नुभयो, “निर्वाचनमा अत्यधिक सहभागिताका लागि मतदाता पनि तयार छन्, मतदान हुने दिनको प्रतिक्षा मात्रै छ ।”

जेनजी विद्रोहपछि छिमेकी मुलुक बङ्गलादेशमा निर्वाचन सम्पन्न भई सरकार गठन हुन लागेको उदाहरण दिँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बङ्गलादेश पनि अब अनुशासनको लयमा आउँदै छ भन्नुभयो । नेपालमा पनि निर्वाचनपछि अनुशासन स्थापित हुने र शान्तिपूर्ण रूपमा विकासको पथमा अग्रसर हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले यस निर्वाचनले देशको भाग्य, भविष्य, समृद्धि र भावी पुस्ताको भाग्य निर्माण हुने र सही प्रतिनिधि चयन गर्ने सुअवसर रहेको बताउनुभयो । यस सुअवसरलाई सञ्चार क्षेत्रले पनि सदुुपयोग गरी मतदातालाई सही सूचना सम्प्रेषणको जिम्मेवारी निर्वाह गर्न अपिल गर्नुभयो ।

कार्यशालामा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार आचार्य, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले निर्वाचनका बेला पत्रकारिता क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिका बारे प्रकाश पार्नुभएको थियो । आयोगका सहसचिव नारायणप्रसाद भट्टराई, यज्ञप्रसाद भट्टराई, राजेन्द्रकुमार केसी, उपसचिव योगेश अर्याल र पत्रकार रजनीश भण्डारीले निर्वाचनमा सञ्चार क्षेत्रले हेक्का गर्नुपर्ने र अवलम्बन गर्नुपर्ने विभिन्न विषयमा जानकारी गराउनुभएको थियो । कार्यशालामा विभिन्न सञ्चार माध्यमसम्बद्ध पत्रकारको उपस्थिति रहेको थियो ।

चार दलले खोले बैङ्क खाता

प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसारका लागि राजनीतिक दल तथा उम्मेदवारले बैङ्क खाता खोल्न थालेका छन् । निर्वाचनमा उम्मेदवार बनेका व्यक्ति वा राजनीतिक दलले कसैबाट स्वैच्छिक रूपमा सहयोग लिन चाहेमा अनिवार्य बैङ्क खाता खोल्नुपर्ने व्यवस्था निर्वाचन आयोगले गरेपछि खाता खोल्न थालिएको हो ।

आयोगका अनुसार शुव्रmबार साँझसम्ममा चार वटा राजनीतिक दल र ४५४ उम्मेदवारले बैङ्क खाता खोलेका छन् । जिल्लाबाट सूचना आउने व्रmम जारी रहेको पनि आयोगले जनाएको छ । निर्वाचन आयोगले स्वीकृत गरेको प्रतिनिधि सभा निर्वाचन प्रचारप्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८२ अनुसार प्रत्येक राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचार खर्च गर्नका लागि छुट्टाछुट्टै बैङ्क खाता खोल्नुपर्ने व्यवस्था गरेको छ । कार्यविधि माघ २० गते स्वीकृत गरेर कार्यान्वयनमा ल्याइएको हो । बैङ्क खाता खोलिसकेपछि राजनीतिक दल भएमा निर्वाचन आयोगमा र उम्मेदवार भएमा सम्बन्धित निर्वाचन कार्यालयमा जानकारी पठाउनुपर्ने छ ।

यति दिनभित्रमा बैङ्क खाता खोलिसक्नुपर्ने बाध्यात्मक व्यवस्था भने कार्यविधिमा छैन । आयोगका प्रवक्ता नारायण भट्टराईले कार्यविधि नै बनाएर बैङ्क खाता खोल्न भनिसकेपछि खोल्ने कि नखोल्ने भन्ने विषय राजनीतिक दल र उम्मेदवारको नैतिकताको विषय भएको बताउनुभयो । भट्टराईका अनुसार चुनाव प्रचारका लागि खाता खोल्ने दलमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा (संयुक्त) र राष्ट्रिय जनमोर्चा छन् ।

बैङ्क खाता खोल्नका लागि राजनीतिक दलले राजनीतिक दलको पत्र, उम्मेदवारले उम्मेदवारी दिएको निस्सा र सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाको दस्तखत नमुना कार्ड र नागरिकताको परिचयपत्रसहित निर्वाचन आयोगमा निवेदन दिनुपर्ने छ ।

उक्त कागजपत्र अध्ययन गरेर आयोगले बैङ्क खाता खोल्न सिफारिस दिने छ । बैङ्क खाता खोलिसकेपछि राजनीतिक दल भएमा निर्वाचन आयोगमा र उम्मेदवार भएमा सम्बन्धित निर्वाचन कार्यालयमा जानकारी पठाउनुपर्ने हुन्छ । राजनीतिक दलको बैङ्क खाता भएमा दुई जनाको संयुक्त दस्तखत र उम्मेदवारको खाता भएमा निजले तोकेको व्यक्तिमध्ये एक वा दुुई जनाको संयुक्त दस्तखतबाट सञ्चालन गर्न सकिने कार्यविधिको दफा ५ को उपदफा २ मा उल्लेख गरिएको छ ।

राजनीतिक दल वा उम्मेदवारले सङ्घ, प्रदेश वा स्थानीय तहबाट, तिनै तहको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाबाट, सर्वसाधारणको सेयर रहेको पब्लिक कम्पनी, कुनै पनि प्रकारको शैक्षिक, विदेशी नागरिक तथा संस्थालगायतबाट आर्थिक सहयोग लिन कार्यविधिले बन्देज लगाएको छ । बैङ्क खातासम्बन्धी विवरण गोप्य राखिने आयोगले स्पष्ट पारेको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको चुनावमा ६५ राजनीतिक दल सहभागी छन् । प्रत्यक्षतर्फ तीन हजार ४०४ जना उम्मेदवार छन्, जसमध्ये पुरुष तीन हजार १७ छन् भने महिला ३८८ र अन्य एक जना उम्मेदवार छन् ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button