मूल खबर

घट्यो कच्चा तेलको मूल्य

लक्ष्मी सापकोटा

नेपालमा अर्को साता प्रभाव पर्ने

काठमाडौँ, चैत २६ गते । एक महिनादेखि निरन्तर बढ्दै गएको कच्चा तेलको मूल्यमा गिरावट आएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई साताका लागि युद्धविराम गर्ने सहमति जनाएपछि बुुधबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उच्च गिरावट आएको हो ।

कच्चा तेलको मूल्य १५ प्रतिशतले घटेर प्रतिब्यारेल ९५ अमेरिकी डलरमा झरेको छ । पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण निरन्तर तेलको मूल्य बढेर प्रतिब्यारेल १२० अमेरिकी डलरसम्म पुगेको थियो ।

अमेरिका र इरानबिच वार्ताका आधार तयार हुने सङ्केत मिलेसँगै आपूर्तिमा हुने अवरोध हट्ने विश्वासले इन्धनको मूल्य घटेको हो । यस्तै युद्धविरामको सहमतिसँगै महत्वपूर्ण हर्मुज जलमार्ग खुल्ने आशा बढ्दा तेलको मूल्य घटेको हो ।

विश्वको २० प्रतिशत तेल ढुवानी हुने हर्मुज जलमार्ग इरानले पुनः सञ्चालन गर्न सहमति जनाएपछि बजारमा तेलको उपलब्धता सहज हुने देखिएकाले पनि मूल्य घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कच्चा तेलको मूल्य घटेको र सरकारले इन्धन आयातमा लाग्दै आएको भन्सार शुल्क र पूर्वाधार करमा ५० प्रतिशत छुट दिएसँगै उपभोक्ताले भने एक सातापछि राहत पाउने छन् ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा त्यसको प्रभाव नेपालमा एक सातापछि देखिने छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्य अनुसार स्थानीय बजारमा मूल्य समायोजन हुने गर्छ । आइओसीले प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । सोही अनुसार नेपाल आयल निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने गर्छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेकाले नेपालमा त्यसको प्रभाव एक सातापछि देखिने जानकारी दिनुभयो । “१ देखि १५ तारिखको औसत मूल्यका आधारमा आइओसीले नयाँ मूल्य पठाउने गर्छ,” कार्यकारी निर्देशक भट्टले भन्नुभयो, “मूल्य घटेर आएपछि स्थानीय बजारमा समेत मूल्य घट्छ ।” युद्ध र हर्मुजको प्रभावकारी बन्दले दैनिक एक करोड २० लाखदेखि एक करोड ५० लाख ब्यारेल कच्चा तेल आपूर्तिमा असर पारेको थियो ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button