
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यो सिजन पनि उपाधि यात्रालाई मजवुत बनाउन नान्टेसमाथि जित हात पारेको छ । पीएसजीले घरेलु टोली नान्टेसलाई २–१ ले पराजित गर्दै उपाधि यात्रालाई थप मजवुत बनाएको हो ।
जितसँगै पीएसजीले फ्रेन्च लिग वानको शीर्षस्थानमा १५ अंकको अग्रता बनाएको छ । पीएसजीको २३ खेलबाट ५८ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको मार्सेलीको ४३ अंक छ । नान्टेस ३२ अंक जोडेर १०औं स्थानमा छ ।

पीएसजीको यो लगातार सातौ जित हो । लिगमा भने पीएसजीको यो लगातार पाँचौ जित हो । मोनाकोसँग ३–३ गोलको बराबरीमा रोकिएयता, पीएसजी अपराजित छ । लिगमा अब १५ खेल खेल्न बाँकी छ ।
पीएसजीको जितमा मोउरो इकार्डी र थिलो केररले गोल गरे । घरेलु टोलीका मोसेस सिमोनले सान्त्वना गोल फर्काए । २९औं मिनेटमा इकार्डीको गोलबाट पीएसजीले खेलमा अग्रता बनाएको थियो । इकार्डीले एन्जल डि मारियाको पासमा गोल गर्न सफल भयो । ५७औं मिनेटमा एन्जल डि मारियाकै पासमा थिलो केररले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।
६८औं मिनेटमा मोसेस सिमोनले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी २–१ ले विजयी हुन सफल भयो ।hamrokhelkud



