मूल खबर

काँकरभिट्टा : राम्रो बन्ने सहरको रहर

मुक्ति पौडेल

काँकरभिट्टा । नेपालको पूर्वीद्धार काँकरभिट्टा सुन्दर सहर बन्ने यात्रामा अग्रसर छ । जिल्लाका अन्य व्यापारिक क्षेत्रको तुलनामा काँकरभिट्टा बजार क्षेत्रलाई सफा बजारको रुपमा त चिनिएकै छ त्यसमा पनि अन्य भौतिक संरचनाको विकासको गति पनि तीव्र छ ।

पछिल्लो समयमा काँकरभिट्टा बजार क्षेत्रमा छोटो समयमानै निर्माण भएका देवकोटा पार्क, वाटर फन पार्क र बिपी पुष्पलाल स्मृति बाटिका यसका नमूना बन्न पुगेका छन् । अहिले देखिएको वातावरणीय सचेतना र बिभिन्न सामाजिक संघ सस्थाको अभियानले पनि यसलाई सफा र सुन्दर काँकरभिट्टाको यात्रामा डो¥याएको अनुभव स्थानीयबासीले गरेका छन् ।

कुनै समयमा काँकरभिट्टालाई हेर्ने र बुझ्ने दृष्टिकोण र धारणा नै फरक थियो । सीमा नाका भएर पनि होला काँकभिट्टालाई दुई नम्बरी हुने ठाउँ भनेर गलत मात्रै बुझाइन्थ्यो । तर, आज त्यही काँकरभिट्टा सुन्दर , शान्त र संस्कार .सहितको सभ्य सहरमा रुपान्तरण भइरहेको छ । भौगोलिक र पर्यावरणीय हिसाबलेसमेत सचेत बन्दै गरेको अनुभव यहाँ हुन थालेको छ ।

स्थानीय सरकारको गठन पश्चात प्रदेश र संघीय संसद मार्फतका विकास –निर्माणका योजनाले पनि काँकरभिट्टालाई न्याय गर्ने हिसाबल ेनै बजेट बिनियोजित भएको छ । नेपालकै पूर्वी नाकाको रुपमा रहेको काँकरभिट्टा बसपार्क क्षेत्र, यात्रुहरुको सुबिधा र यात्राको सुबिधाका लागि समेत अहिले सहज भएको यातायातकर्मी दुर्गा खड्का बताउँछन् । बसपार्क क्षेत्रको सरसफाई , यातायातकर्मीहरुको शिष्टता र यात्रुहरुको सहज यात्राका लागि यातायात ब्यबसायी सघ संस्थाहरुको क्रियाशीलता र नागरिकको सहयोगले हिजोको काँकरभिट्टालाई हेर्ने दृष्टिकोण कायापलट भएको खड्कमको तर्क छ ।

शान्ति सुरक्षाका हिसाबले समेत काँकरभिट्टा बजार क्षेत्र देशकै बजारमा शान्त रहेको जिकिर गर्छन सामाजिक अगुवा ज्ञानेन्द्र घिमिरे । उनी भन्छन् ‘ सीमा नाका भएर पनि यहाँको शालिन र शान्त वातारण अन्य नाका र बजारमा छैन जस्तो लाग्छ मलाई ।’ तर, बजार क्षेत्रलाई थप हरित नगर बनाउन स्थानिय सरकार र नागरिक समाजको पहल आवश्यकता भएको घिमिरेको राय छ । बढ्दो भौतिक विकास क्रमसँगै बिभिन्न वित्तीय संस्थाहरुको बाक्लो उपस्थिति र सामाजिक संघ संस्थाहरुको उपस्थितिले पनि काँकरभिट्टालाई शान्त बजारको रुपमा लिने आधार बनाएको उनको बुझाई छ ।

स्वास्थ्य सेवामा पनि सहरले फ्डको मार्दैछ । यहाँ रहेको उपस्वास्थ्य चौकीको स्तरन्नोतिसँगै डाक्टर र ब्लडबैंक अपरिहार्य आवश्यकता भएको बताउँछन् यहाँका स्वास्थ्यकर्मी कृष्ण्बहादुर सुवेदी । उनी भन्छन् ‘ विकास भनेको जादुको छडी नै त होइन तर मानवीय हिसाबले काँकरभिट्टामा एउटा राम्रो स्वास्थ्य उपचार केन्द्र र ब्लड बैंकको आवश्यकता छ ।’ आँखा उपचारका लागि काँकरभिट्टा राम्रो गन्तव्य यसअघि नै बनिसकेको छ ।

तर, काँकरभिट्टामा खुला क्षेत्रको जोहो भने अपेक्षा अनुसार नभएको स्थानीय ठाकुर शिवाकोटीको मत छ । बौद्धिक अगुवा र शिक्षाकर्मीका रुपमा चिनिने शिवाकोटी खुला क्षेत्रको जोहो र संरक्षण आज गर्नु पर्ने औल्याउँछन् । उनी भन्छन् ‘ भौतिक संरचनाको विकाससँगै भोलीका दिनमा आईपर्ने प्राकृतिक बिपत्तिका लागि हामीले कत्तिको सोचेका छांै ? अहिले हामीले काँकरभिट्टा बजार क्षेत्रका आसपासमा खुला स्थलको संरक्षणमा ध्यान पु¥याउनु आवश्यक छ ।’

सहरमा पर्यावरणको संरक्षणमा समेत ध्यान जानु पर्ने आवश्यकता औल्याउँछन् काँकरभिट्टा खानेपानी संस्थाका पूर्व अध्यक्ष सूर्यप्रकाश उप्रेती । उनको सुझाव छ ‘ भर्खरै मानव मलमुत्र प्रसोधन केन्द्रको उद्घाटन भएको छ यसलाई पनि हामीले यसक्षेत्रको महत्वपूर्ण विकासको चरण मान्नुपर्छ । साथै वातावरणको संरक्षण र वातावरणमैत्री कार्यक्रमको संचालनमा सरकार, सामाजिक संघ संस्था र नागरिक समाजको सहकार्यको आवश्यकता छ ।’

भौतिक विकासकोे आफ्नै महत्व हुन्छ । तर, बिकासका आयामहरुलाई मसिनो गरि हेर्ने हो भने यसमा थुप्रै पक्ष र पाटाहरुको संग्रह रहेको हुन्छ। हरेक समाजको संस्कार र सभ्यता प्रकट पनि विकासकोे महत्वपूर्ण मापक मानिन्छ । नेपालको पूर्वी नाकाको नामले चिनिएको काँकरभिट्टाको राम्रो र सुन्दर बन्ने रहरको यात्रालाई थप सफल बनाउन यहाँको समाजको एकता,सद्भाव र आत्मियताको अझ ठूलो महत्व रहेको छ । सबै जाति , भाषा र लवजको संगमस्थल रहेको काँकरभिट्टालाई सुन्दर सहर बनाउन स्थानीय सरकार र यहाँ सिङ्गो समाजको हातेमालोले एक पटक काँकरभिट्टा जानैपर्छ भन्ने बनाउन सक्छ ।janasamsadonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button