
विर्तामोड / उनी सम्पन्न परिवारमा जन्मे हुर्के तर जीवन निमुखाहरुको आवाज मुखरित गर्ने संघर्षमा बिताए । मुलुकलाई गणतन्त्रको दिशामा लैजाने आन्दोलनको नेतृत्व गरे, उनले हिडेको बिद्रोहको बाटो गन्तव्यमा पुग्यो । देश गणतन्त्रमा गयो, उनले जिते । राजनीतिक लडाइँ जितेका उनले रोगसँगको युद्ध चाहिँ हारे । त्यसैले असमयमै बिते उनी ।
हो, छोटो समयमै जनप्रिय नेता बन्न सफल गौरीशंकर खड्का, अहिले स्मृतिमा मात्र छन् । माक्र्सवादी विचारबाट प्रेरित खड्का, माक्र्सवाद, लेनिनवाद र माओवादलाई मूल मन्त्र मानेर अघि बढेका थिए । गुट, फुट र विघटन नै पार्टीलाई सिध्याउने कारक र विषय हुन् उनी भन्ने गर्थे । जातीय आन्दोलन र वर्गीय मुक्ति आन्दोलनको नारालाई जोड दिएर संगठन विस्तार गर्न सके मात्र लक्ष्य र उद्देश्यमा पुग्न सकिने उनको बिचार थियो । क्रियाशील जनशक्तिलाई पूर्वको आन्दोलनबाट उत्पादित युवा शक्तिको संरक्षण गर्दै ऊर्जाशील बनाएर विकास निर्माणमा लगाउन पार्टीले सधैं चासो र चिन्ता दिनुपर्छ भन्ने उनको चिन्ताको विषय थियो ।
उनले ०६४ चैत २८ गते सम्पन्न संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचनमा (१८,५३०) मत ल्याई विजयी बनेका थिए । वास्तविक नाम गौरीशंकर भए पनि पार्टीमा उनी राजेन्द्र नामले चिनिएका थिए । २०१६ साल भदौ ३ गते आमा मालिका र बुबा जयबहादुर खड्काका खन्तरे छोराका रूपमा तेह्रथुमको इसिवु गाविस–२ ज्यामिरेमा उनको जन्म भएको थियो । २०५४ सालमा पार्टीले उनलाई मेची–कोसी क्षेत्रीयव्युरो सदस्यको जिम्मेवारी दियो । त्यसबेला उनले ताप्लेजुङ र पाँचथर जिल्ला संयुक्त सेक्रेटरीको भूमिका समेत निर्वाह गरेका थिए । २०५८ मा क्षेत्रीय व्युरो इन्चार्जको जिम्मेवारी सम्हालेका उनी २०५९ मा ताप्लेजुङ, पाँचथर, इलामको इन्चार्ज, २०६० सालमा पार्टीको केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज भएर काम गरेका थिए ।
इमान्दार, सरल, संघर्षशील, प्रतिबद्ध र क्रान्तिकारी स्वभावका गौरीशंकर कसैसँग बाझो जुधो नगर्ने, सबैसँग हाँसेर बोल्ने, कसैले गाली गरिहाल्यो भने पनि हाँसेर आफूतिर आकर्षित गर्ने उनको मुख्य स्वभाव थियो । पार्टी र क्रान्तिले दिएको जिम्मेवारीलाई उनि कर्तव्य सम्झन्थे । धनसम्पत्ति र लोभलालचमा खड्का कहिल्यै फसेनन् ।
बोनम्यारोको क्यान्सर भएपछि उपचारका निम्ति मुम्बईको टाटा मेमोरियल अस्पतालमा भर्ना गरियो । अन्ततः सोही रोगका कारण काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा उपचारकै क्रममा ५१ वर्ष वर्षको उमेरमा उनको निधन भयो । २०६७ फागुन ९ गतेका दिन बिहान ६ बजे खड्काले देहत्याग गरे । प्राणघातक रोग बोनम्यारोको क्यान्सर उनलाई थियो । गौरीशंकरको योगदानलाई चिरस्थाई बनाइराख्न प्रत्येक बर्ष बिभिन्न कार्यक्रम गरिदै आएको छ । यस पटक भने फरक प्रकारले उनलाई सम्झने प्रयास हुँदैछ ।
पहिलो पुस्ताका जनवादी कलाकारहरुलाई बिर्तामोडमा भेला गराएर सांगीतिक कार्यक्रम र सम्मान कार्यक्रम गरिने भएको छ । सो कार्यक्रममा जनवादी कलाकार रामेश, रायन, मञ्जुल, जेवी टुहुरे, जिवन शर्मा, रामकृष्ण दुवाल, मणि थापा, चन्द्र भण्डारी र खुशीराम पाख्रिनले प्रस्तुती राख्ने र उनीहरुलाई सम्मान गरिने तयारी प्रतिष्ठानले गरेको छ । कार्यक्रममा मधु गुरुङ्ग र माधब प्रधानको पनि प्रस्तुती रहने छ । खड्काको निधन भएको ९ औं वार्षिक तिथि फागुन ९ गते बिर्तामोडको देवी मावीमा कार्यक्रम हुने जनाइएको छ । कार्यक्रममा नेकपाका नेता झलनाथ खनाल, अमृत बोहोरा, पार्टीका जिल्लाका नेताहरुको उपस्थिती रहने भएको छ । यसअघि बैचारिक कार्यक्रम गरी खड्कालाई सम्झिने गरिएकोमा यसबर्ष उनलाई फरक ढंगले सम्मान गर्ने तयारी भएको हो ।janasamsaddaily



