
चारआली । यस क्षेत्रमा सञ्चालित निजी विद्यालयमध्येको अग्रणी शिक्षण संस्था लिटल एञ्जल्स अंग्रेजी विद्यालयले रजत महोत्सव मनाउने भएको छ ।
विद्यालय स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ पारेर विविध कार्यक्रमको आयोजना गरी रजत महोत्सव समारोह आयोजना गर्न लागिएको सो विद्यालयले जनाएको छ ।
शनिबार विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रिन्सिपल रुद्रमणि सुवेदीले महोत्सवको अवसर पारेर दुई दिवशीय विविध कार्यक्रमको तयारी गरिएको जानकारी गराए ।
उनका अनुसार महोत्सवको कार्यक्रम तालिका अन्तर्गत आउँदो फागनु १२ गते गीत तथा नृत्य प्रस्तुत गरिनेछ भने १३ गते सम्मान तथा पुरस्कार वितरणसभित सांस्कृतिक कार्यक्रम हुनेछ ।
‘२०५१ सालमा पठनपाठन सुरु गरेको यो विद्यालय निजीस्तरमा चारआलीकै पहिलो हो’ प्रिन्सिपल सुवेदीले भने–‘विद्यालयले गौरवका साथ मनाउन लागेको रजत महोत्सवलाई सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न आवश्यक तयारी गरिरहेको छ ।’
सम्मेलनका क्रममा विद्यालयका को–अर्डिनेट र भूमिप्रसाद सुवेदीले रजत महोत्सव एवं २५ औं वार्षिकोत्सव कार्यक्रममा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरिने बताए । २०५६ सालदेखि २०७५ सालसम्मको एस.एल.सी परीक्षामा प्रथम स्थान हाँसिल गर्ने १९ जना विद्यार्थी महोत्सवमा पुरस्कृत हुँदैछन् ।
उनले भने–‘विद्यार्थीका अन्र्तनिहीत विविध प्रतिभालाई प्रस्फुटन गराउने थलोका रुपमा मात्र नभई पूर्व शिक्षक तथा कर्मचारी, व्यवस्थापन समिति, अभिभावक तथा विद्यार्थीको पुर्नमिलनका दृष्टिले समेत महोत्सव गरिमामय बन्ने ठानेका छौं ।’
विद्यालयका निर्देशक सुरेशराज श्रेष्ठका अनुसार पूर्व विद्यार्थीमध्ये सरकारी तथा अधिकृत स्तरका १६ जना, विद्यालय व्यवस्थापन समितिका ३ जना पूर्व अध्यक्षलाई सम्मान गरिनेछ ।
त्यस्तै, ३ जना पूर्व शिक्षक, अभिभावक तथा शिक्षासेवीतर्फ ४ जना, विद्यालयमा कार्यरत् शिक्षकमध्ये २ जना, कर्मचारीतर्फ १ जनालाई सम्मान गर्न लागिएको सम्मेलनमा जानकारी गराइयो ।
जिल्लाका विभिन्न विद्यालयका गरी ३ हजार बढी विद्यार्थीले सहभागिता जनाउने महोत्सवको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गर्ने शिक्षक सचिन न्यौपानेले बताए ।
मेचीनगर १३ स्थित सो विद्यालयमा हाल ८ सय बढी विद्यार्थीहरु अध्ययनरत् छन् ।



