मूल खबर

प्रधानमन्त्रीसहित चार जनाविरुद्ध अख्तियारमा उजुरी, प्रमले मतियारको कार्य गरेको उजुरीमा उल्लेख

विकास भट्टराई, काठमाडौं ।

सेक्युरिटी प्रेस खरिदका लागि कमिसनमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत संलग्न भएको आरोपमा उहाँसहित चार जनाविरुद्ध छानबिन गर्न माग गर्दै आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दायर गरिएको छ। प्रधानमन्त्री ओलीसहित चार जनाविरुद्ध सो आरोपमा छानबिन गर्न माग गर्दै उजुरी दायर गरिएको हो।

बाँके जिल्लास्थित नेपालगन्जका प्रेमबहादुर शाही र मकवानपुर जिल्ला हेटौंडाका आनन्दराम पौडेलले प्रधानमन्त्री ओली, पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालगायतविरुद्ध सेक्युरिटी प्रेस प्रिन्टिङ खरिद गर्नका लागि भ्रष्टाचार गर्न लागेको उल्लेख गदै अख्तियारमा उजुरी दायर गरेका हुन्।

उनीहरूले भू–उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, अप्टिकल फाइबर विस्तारलगायतमा भ्रष्टाचार गरेको आरोपमा प्रधानमन्त्री ओली, पूर्वसञ्चारमन्त्री बाँस्कोटा, पूर्वसूचना सचिव महेन्द्र गुरुङ र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध छानविन गर्न माग गरेका छन्।

पूर्वमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि नेपालस्थित एजेन्टसँग ७० करोड रुपियाँ कमिसन चाहिने भनी माग गरेको अडियो सार्वजनिक भएको थियो।

त्यस्तो अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। प्रधानमन्त्री ओलीलाई सो अडियोबारे डेढ महिनाअघि नै जानकारी भए तापनि त्यस सम्बन्धमा खासै चासो नदिएको उजुरीमा उल्लेख गरिएको छ।

त्यस्तो जानकारी भए तापनि प्रधानमन्त्री ओलीले त्यसलाई लुकाएर मतियारको कार्य गरेको उजुरीमा जनाइएको छ।

पूर्वसञ्चार मन्त्री बाँस्कोटाले प्रेस खरिद गर्दा २७ अर्ब लाग्ने भए तापनि त्यसलाई बढाएर २८ अर्ब बनाउनुपर्ने, सोबापत कमिसन ७० करोड रुपियाँ हुनुपर्नेजस्ता माग राखेको अडियो सार्वजनिक भएको थियो।

नेपाल टेलिकमको फोरजी सञ्चालनमा अर्बौं रुपियाँ भ्रष्टाचार भएको दाबीसहित रहस्य सार्वजनिक भए पनि अख्तियारले त्यस सम्बन्धमा अनुुसन्धान नगरेकोमा सार्वजनिक रूपमा असन्तुष्टि हुँदै आएको छ।

पूर्वसञ्चारमन्त्री बाँस्कोटा प्रधानमन्त्री ओलीको विश्वास प्राप्त व्यक्ति भएको उल्लेख गरिँदै आएको छ। प्रधानमन्त्री ओलीको विश्वास प्राप्त भएका कारण बाँस्कोटाले उन्मुक्ति पाउने हुन् कि भन्ने आशंका पनि व्यक्त गरिँदै आएको छ।

अख्तियारले सेक्युरिटी प्रेस खरिद घोटाला प्रकरण, फोरजी प्रकरण, अप्टिकल फाइबर विस्तार प्रकरणमा छानबिन नगरेको भनी आरोप लाग्दै आएको छ। ती भ्रष्टाचार प्रकरणमा शीघ्रातीशीघ्र छानबिन गर्न उजुरीमा माग गरिएको छ।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button