मूल खबर

आश्वासनमै सीमित पश्चिम सेती आयोजना

हिक्मत सिंह

डडेल्धुरा, फागुन १७ गते । सरकारले औपचारिक रूपमा पश्चिम सेती परियोजनाको निर्माण अझै अगाडि बढाउन सकेको छैन । हरेक निर्वाचनमा मुख्य रूपमा उठान हुने पश्चिम सेती परियोजना अहिलेसम्म आश्वासनमै बितेको छ ।
नारामा धेरै बढीको जिब्रोबाट बोलिने पश्चिम सेती कहिले बन्छ कुनै टुङ्गो छैन । परियोजनाको २८ वर्ष बितिसक्दा पनि निर्माणको काम भने अगाडि बढेन ।
यस क्षेत्रका बासिन्दा तीन दशक पहिलादेखि चर्चामा रहेको पश्चिम सेती परियोजनाको आशामा अझै छन् । पश्चिम सेती परियोजनाको निर्माण स्थलका बासिन्दाले दशकौँपहिला परियोजना लागू हुने सुनेका मात्रै थिएनन्, केही कम्पनीले स्थलगत प्रतिवेदनसमेत तयार पारेको उनीहरू सुनाउँछन् ।
पश्चिम सेती परियोजना सुरु हुने हल्लाले अन्य विकासबाट वञ्चित बन्नु परेको स्थानीयवासीको दुःखेसो छ । “पश्चिम सेती परियोजना प्रभाव क्षेत्रमा लगानी गरेपछि डुबान हुने भन्दै सरकारको लगानी रोकिएको छ”, स्थानीयवासी डम्बरबहादुर सिंह भन्नुहुन्छ, “न पश्चिम सेती सुरु हुन्छ, न त यस क्षेत्रको अन्य विकास निर्माण कार्य नै ।” उहाँले परियोजनाको हल्लाले बाटो, खानेपानी, सिँचाइ, शिक्षा जस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित हुनु परेको बताउनुभयो ।
दशकौँ पहिलेदेखि विभिन्न विदेशी कम्पनीसँग सम्झौता भई केही काम सुचारु भएको स्थानीय सरिता चन्दले बताउनुभयो । डडेल्धुराको बेलापुर र बैतडीको ढुङ्गाडका बस्ती र सेती परियोजना लागू हुने स्थान तथा बाँध बाँधिने ठाउँमा विभिन्न काम भएको उहाँले बताउनुभयो । तीन दशकदेखि चर्चाको विषय बन्दै गइरहेको पश्चिम सेती आयोजना स्थलको पटक पटक भौगर्भिक अध्ययन भए पनि सार्थक रूपमा काम हुन सकेको छैन ।
कतिपय सरकारमा बस्ने नेतृत्वले यस परियोजनाको नाममा भोटसमेत मागे, पटक पटक आश्वासन दिए तर परियोजना लागू हुने अवस्था भने ३० वर्ष पहिलाको जस्तै छ । पश्चिम सेती परियोजनाको पलाएको आशा मरिसकेको प्रभावित क्षेत्रका सर्वसाधारणको बुझाइ छ । न परियोजना लागू भयो न त पश्चिम सेती किनार छेउमा ग्रामीण बस्तीमा विकास नै हुन सक्यो ।
डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ र ५, बैतडीको सिगास गाउँपालिका, डोटीका आदर्श गाउँपालिका र बझाङका केही गाउँमा विकास हुन नसकेको शारदा माध्यमिक विद्यालय ढुङ्गाडका प्रधानाध्यापक मीनबहादुर चन्दले बताउनुभयो । प्रधानाध्यापक चन्दले भन्नुभयो, “जनप्रतिनिधि आएपछि सडक, बत्ती, बाटोघाटो, विद्यालय भवन, खानेपानी जस्ता विकास निर्माणका काम हुन्छन् कि भन्ने लागेको थियो तर हाम्रा अन्य सपना पनि पश्चिम सेती परियोजनाजस्तै भयो ।”
पञ्चायत कालदेखि नै चर्चामा रहेको परियोजना वर्तमानमा समेत पूरा हुन नसकेको नवदुर्गा गाउँपालिका डडेल्धुराका अध्यक्ष कविन्द्र विष्टले बताउनुभयो । यो परियोजना सञ्चालनका लागि केन्द्र सरकारबाट बजेट छुट्याउन आग्रह गरिएको र परियोजना लागू गर्न स्थानीय स्तरबाटै पहल गरिएको अध्यक्ष विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “नवदुर्गा गाउँपालिकाको पहलमा परियोजनाको बाँधस्थल पुगेर गत वर्ष नै सरोकारवालासँग छलफल चलाइसकेका छौँ ।”
सरकारले विभिन्न सम्झौताका नाममा स्थानीयवासीलाई धोका दिएकाले अब स्थानीय स्तरबाटै पहल गरी पश्चिम सेती परियोजनाको ढोका खोल्ने सरोकारवाला जनप्रतिनिधिहरूको भनाइ छ । हामी जस्तोसुकै मूल्य चुकाउन तयार छौँ तर सेती परियोजना लागू गरी सुदूरपश्चिम प्रदेशकै विकासलाई आगाडि बढाउनुपर्ने नवदुर्गा–४ का अध्यक्ष पदम विष्टले बताउनुभयो ।
परियोजना लागू हुने नाममा स्थानीय ढुङ्गाड, तलार, आदर्शनगर, थलरा लगायतका दर्जनौँ गाउँ अहिलेसम्म पनि अन्धकारमा छन् । अन्य विकासबाट समेत वञ्चित रहनु परेको आदर्श गाउँपालिकाका बासिन्दा टेकबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै दुःख खेप्यौँ, विकासबाट वञ्चित बन्याँै । स्थानीय जनप्रतिनिधिले भने केही आशा जगाएका छन् ।”
“बाजेको पालामै यस ठाउँमा बाँध बाँधिन्छ, सर्नुपर्छ भन्ने सुनेको हँु, अहिलेसम्म चर्चा मात्रै सुनिन्छ बन्न सकेको छैन । ढुङ्गामाटोको काम गरे पनि रोजगारी पाइन्थ्यो । विस्थापित घरपरिवारले राम्रै स्थानमा जमिन पाउँथे । यो ठाउँ र प्रदेशमै विकासले गति लिन्थ्यो तर लागू हुन सकेन”, स्थानीयवासीको दुःखेसो छ ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button