खबर

नि:शुल्क खाद्य सामाग्री वितरण

काठमाडौं ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको बिशेष पहल एवं बिभिन्न बैंकहरुसँगको सहकार्यमा असहाय, शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरु तथा ज्याला मजदुरी गरी गुजारा चलाउने व्यक्तिहरुका लागि नि:शुल्क खाद्य सामाग्री वितरण गरिएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि नेपाल सरकारले अंगिकार गरेको लकडाउनको कारण त्यस्ता व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत कठिन हुन गएको परिस्थितिका कारण उनीहरुका लागि नि:शुल्क खाद्य सामाग्री वितरण गरिएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले सोमबार मानव कल्याण समाज झौखेल भक्तपुरमा आश्रीत ६३ जना फरक क्षमता भएका, अशक्त, असहाय व्यक्तिहरु, हनुमन्ते कोरिडोर ठिमी चारदोबाटोमा बस्दै आएका २० जना र सल्लाघारीमा बस्दै आएका १२ जना दैनिक ज्यालादारी मजदुरहरुलाई अत्यावश्यक खाद्य सामाग्री वितरण गर्नुभयो ।

यसअघि आइतबार उहाँले एनआईसी एसिया बैंकको सहकार्यमा सामाखुसीस्थित मानव सेवा आश्रमलाई समेत नि:शुल्क खाद्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

हाल उत्पन्न यस परिस्थितिमा मानव सेवामा समर्पित संघसंस्था तथा दैनिक ज्यालादारी मजदुरी गरी खाने मजदुरहरुले दैनिक सामाग्रीको समस्या बेहोर्नु नपरोस् भनी नि:शुल्क वितरणको अभियान नै संचालन गरिएको र कुनै गुनासो भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाईन नम्बर १०० मा सम्पर्क गर्न सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।newsofnepal

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button