खेलकुद

मोन्चेनग्लाडवाकसँग डर्टमुन्डको हार

माघ १०, २०७७

एजेन्सी – बोरुसिया डर्टमुन्डले खराव प्रदर्शनलाई निरन्तरता दिदा जर्मन बुन्डेसलिगामा बोरुसिया मोन्चेनग्लाडवाकसँग पराजित भएको छ । डर्टमुन्ड घरेलु टोलीसँग ४–२ ले पराजित भएको हो ।

बुन्डेसलिगामा डर्टमुन्डको यो लगातार दोस्रो हार हो । यसअघि डर्टमुन्ड बायर लिभरकुसनसँग पराजित भएको थियो । डर्टमुन्ड १५ अगस्ट २०१५ पछि पहिलोपटक मोन्चेनग्लाडवाकसँग पराजित भएको हो । यसक्रममा डर्टमुन्ड १२ खेलसम्म अपराजित रहेको थियो ।

मोन्चेनग्लाडवाकको जितमा निको इलभेडीले दुई तथा रामी बेन्सेबेइनी र मार्कुस थुरामले गोल गरे । डर्टमुन्डका लागि दुवै गोल एर्लिङ ब्राउट हालान्डले गरेपनि हार टार्न सकेन । बोरुसिया पार्क मोन्चेनग्लाडवाकमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीका फ्लोरियन नेउहसले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

११औं मिनेटमा निको इलभेडीले जोनास होफमनको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । २२औं मिनेटमा जाडोन सान्चोको पासमा हालान्डले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

२८औं मिनेटमा सान्चोकै पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमुन्डले खेलमा २–१ को अग्रता लिएको थियो । तर डर्टमुन्डको त्यो अग्रता लामो समय टिकेन । ३२औं मिनेटमा निको इलभेडीले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको थियो ।

४९औं मिनेटमा नेउहसको पासमा रामीले गोल गर्दै मोन्चेनग्लाडवाकलाई ३–२ ले अघि बढाए । ७८औं मिनेटमा मार्कुस थुरामले नेउहसकै पासमा गोल गर्दै डर्टमुन्डलाई ४–२ को हार चखाए ।

यो जितसँगै मोन्चेनग्लाडवाक १८ खेलबाट ३१ अंक जोडेर चौथो स्थानमा उक्लदा पराजित डर्टमुुन्ड पाँचौ स्थानमा झरेको छ । डर्टमुन्डको २९ अंक छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button