
१३ माघ २०७७
काठमाडौं, (नेस)
वरिष्ठतम अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो ‘आफू तमासे हो र?’ भन्ने प्रश्न सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासमा राख्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनको सुनुवाइ हुँदाहुँदै सोमबार वरिष्ठतम अधिवक्ता भण्डारीले भन्नुभयो– ‘के म तमासे हो र?’ सो प्रश्न सोध्नुअघि उहाँ कुर्सीमा बसिरहनुभएको थियो ।
प्रधानमन्त्री ओलीले तीन दिनअघि ‘एक जना बाजे वकिललाई तमासा देखाउन संवैधानिक इजलासमा बहस गर्न लगेछन्’ भन्ने टिप्पणी गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको सो टिप्पणीपछि कानुनसँग सम्बन्धित निकायहरुले प्रधानमन्त्रीको विरोधस्वरुप विज्ञप्ति जारी गरेका थिए।
वरिष्ठतम अधिवक्ताले सो प्रश्न राखेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अहिले सो विषयमा प्रवेश नगरौं भनी जवाफ दिनुभएको थियो। वरिष्ठतम अधिवक्ता भण्डारीले ८ दिनअघि नै प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्छ भन्दै इजलासमा बहस गर्नुभएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनका पक्षमा विगत ८ दिनदेखि लगातार सुनुवाइ भइरहेको छ ।
सोमबारको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीसँग दुईथरी संविधान भएको उल्लेख गर्नुभएको थियो । एउटा राज्यको संविधान र अर्को आफूलाई जे मन लाग्यो सो गर्नका लागि तयार भएको गरी दुईवटा संविधान प्रधानमन्त्रीसँग भएको व्यङ्ग्य वरिष्ठ अधिवक्ता शम्भु थापाले गर्नुभएको थियो ।
उहाँले संविधानभन्दा बाहिर गएर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभएको उल्लेख गर्नुभएको थियो । यसैगरी अधिवक्ता मेघराज पोखरेलले प्रधानमन्त्री ओलीले गलत मनसाय लिई प्रतिनिधिसभा विघटन गर्नुभएको आरोप लगाउनुभएको थियो ।
प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दायर भएका रिट निवेदनको पक्षबाट सोमबारसम्म करिब ३० जना कानुन व्यवसायीहरुले बहस सकाएका छन् ।
सोमबारबाट पूर्वमाओवादीका नेता देव गुरुङलगायतद्वारा दायर गरिएको रिट निवेदनमाथि सुनुवाइ शुरु भएको छ । वरिष्ठ अधिवक्ता थापा र अधिवक्ता पोखरेलले गुरुङको पक्षबाट बहस गर्नुभएको हो । यसैगरी सरकार पक्षबाट पनि उल्लेख्य संख्यामा कानुन व्यवसायीहरु बहस गर्न तयारी अवस्थामा रहेका छन् । नेपाल बार र सर्वोच्च बारबाट नियुक्त भएका पाँच एमिकस क्युरीबाट पनि आफ्नो भनाइ राख्ने क्रम बाँकी नै रहेको छ ।newsofnepal/from



