खबर

कर्णाली नदीले तटबन्ध भत्काएपछि कर्णाली गाउँ पस्ने खतरा बढ्यो

काठमाडौं,भदौ १०, २०७८
लगातारको वर्षाका कारण कर्णाली नदीले तटबन्ध भत्काएपछि कर्णाली गाउँ पस्ने खतरा बढेको छ। टीकापुर नगरपालिका– ५ शाहीपुरमा निर्माण गरिएको तटबन्ध बुधबार मात्रै कर्णाली नदीले पाँच मिटरबढी तटबन्ध कटान गरेपछि कर्णाली गाउँ पस्ने खतरा बढेको हो।

स्थानीय चन्द्रबहादुर रोक्कामगरले दिएको जानकारी अनुसार नदीमा पानीको सतह बढ्दै गएको छ। पानीको सतह बढ्दै जाँदा तटबन्ध फुटेर गाउँ पस्ने खतरा बढेको रोक्कामगरले बताए।‘एक महिना अघिदेखि नै कटान गरिरहेको ठाउँमा ठूलो ढुंगा खसालेर नियन्त्रणको प्रयास भइरहेपनि कर्णाली नदीमा पानीको सतह बढ्दै गएको हुनाले तटबन्ध भत्किरहेको छ’ उनले भने ‘पानीको सतह बढ्दै जाँदा नदी गाउँ पस्ने खतरा बढेको छ।’

कर्णाली नदीले सो ठाउँमा कटान गरे टीकापुर नगरपालिका वडा नं. ५ का शाहीपुर, सिम्रेनी वडा नं. ७ को सत्ती, वडा नं. ८ को सूर्यपुर, विष्णु कान्तिपुर, वनगाउँ लगायतका गाउँमा असर पर्नेछ। अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

अहिलेसमेत वर्षा भइरहेका कारणले नदी गाउँ पस्ने खतरा बढेसँगै शाहीपुर क्षेत्रका बालबालिकालाई टीकापुर पठाइएको रोक्कामगरले बताए। ‘हामी बाढी प्रभावित क्षेत्रका बालबालिकालाई टीकापुरमा रहेका शिविरमा पठाएका छौं’ उनले भने ‘नदीको कटान नियन्त्रणका लागि हामी बोरामा बालुवा भरेर नियन्त्रणको प्रयास गरिरहेका छौं।’
टीकापुर नगरपालिका वडा नं. ८ का अध्यक्ष दीर्घबहादुर ठकुल्लाले नदीमा पानीको सतह बढेको र शाहीपुरमा रहेको तटबन्ध भत्किरहेको बताए। ‘कटान नियन्त्रणको प्रयास भए पनि पानीको सतह बढ्दा नदी गाउँ पस्ते खतरा बढेको छ’ नगरपालिकाका प्रवक्ता समेत रहेका ठकुल्लाले भने ‘बाढीको खतरा बढेसँगै गाउँमा सबैलाई सचेत रहन हामीले सूचना दिइरहेका छौं।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button