मंसिर २४, २०७८
एजेन्सी – इटालियन क्लब एटलान्टालाई उसकै मैदानमा पराजित गर्दै स्पेनिस क्लब भिल्लारियल युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ ।
एटलान्टालाई ३–२ को गोल अन्तरले पराजित गर्दै भिल्लाले समूह ‘एफ’ को उपविजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको हो । समूह चरण पार गर्न दुवै टोलीलाई जित आवश्यक रहँदा भिल्लाले बाजी मारेको हो ।
भिल्लाको जितमा अर्नाउट डानजुमादे दुई तथा इटिन कापोइले एक गोल गरे । घरेलु टोलीका रुस्लान मालिनोभ्स्की र डुभान जापटाले गोल गरे । जिविस स्टेडियम बरगामोमा बिहीबार राति भएको रोमाञ्चक खेलमा भिल्लारियलले खेलको तेस्रो मिनेटमा नै डानजुमाको गोलबाट अग्रता लिएको थियो । ४२औं मिनेटमा इटिन कापोइले गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर पारे ।
५१औं मिनेटमा डानजुमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै भिल्लारियललाई ३–० ले अघि बढाए । त्यसपछि घरेलु टोली एटलान्टाले दुई गोल गरेपनि हार टार्न सकेन । ७१औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ८०औं मिनेटमा डुभान जापटाले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएपनि त्यसपछि गोल निस्कन नसक्दा घरेलु टोली पराजित हुदै समूह चरण पार गर्न सकेन ।
बुधबार राति नै हुनुपर्ने खेल अत्याधिक हिमपातका कारण खेल हुन नसकेपछि एक दिन पछि सारिएको हो । यो समूहबाट इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।
भिल्लाले अघिल्लो चरणमा स्थान पक्का गरेसँगै च्याम्पियन्स लिगका प्रि–क्वाटरफाइनलको समिकरण पुरा भएको छ । म्यानचेस्टर सिटी, लिभरपुल, आयाक्स, रियल म्याड्रिड, बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड, लिल र युभेन्ट्स समूह विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पिएसजी, एट्लेटिको म्याड्रिड, स्पोर्टिङ सिपी, इन्टर मिलान, बेन्फिका, भिल्लारियल, रेडबुल साल्जवर्ग र चेल्सी समूह उपविजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भएको छ ।hamrokhelkud/from



