खेलकुद

इन्टर मिलान १३ वर्षपछि सेमिफाइनलमा

एजेन्सी – दोस्रो लेगमा बराबरीमा रोकिनुको बावजुत इटालियन क्लब इन्टर मिलान १३ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरीमा रोकिएपनि इन्टरले समग्रमा ५–३ को जित निकाल्दै १३ वर्षपछि अन्तिम चारको यात्रा तय गरेको हो । इन्टर पहिलो लेगमा २–० ले विजयी भएको थियो ।

सन् २००९–१० को सिजनमा इन्टरले बायर्न म्युनिखलाई पराजित गर्दै च्याम्पियन बनेको थियो । त्यसयता इन्टर क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।

मिलानोमा बुधबार राति भएको खेलमा घरेलु टोलीका निकोला बरेल्ला, लोउटारो मार्टिनेज र जोआक्विन कोरेआले गोल गर्दा बेन्फिकाका फ्रेडरिक अर्सनेस, एन्टोनियो सिल्भा र पिटर मुसाले बराबरी गोल फर्काएर टोलीलाई हारबाट जोगाएपनि अघि बढ्न सकेन ।

खेलको १४औं मिनेटमा बरेल्लाको गोलबाट इन्टरले अग्रता बनायो । ३८औं मिनेटमा फ्रेडरिकले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

६५औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गरेपनि इन्टरले पुनः खेलमा २–१ को अग्रता बनाउन सफल भयो । ७८औं मिनेटमा जोआक्विन कोरेआले गोल गरेपछि इन्टर खेलमा ३–१ ले अघि बढ्यो ।

८६औं मिनेटमा एन्टोनियो सिल्भाले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा मुसाले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याएपनि पहिलो लेगमा भोगेको हारको कारण बेन्फिकाको यात्रा क्वाटरफाइनलमै रोकियो ।

यस जितसँगै सेमिफाइनलमा स्थान पक्का गरेको इन्टरले अब फाइनल प्रवेशका लागि सिरी ‘ए’ प्रतिद्धन्द्धी एसी मिलानसँग प्रतिस्पर्धा गर्नेछ । मिलानले नेपोलीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा पुगिसकेको छ । सेमिफाइनलको पहिलो लेग ९ मेमा तथा दोस्रो लेग १६ मेमा हुनेछ ।हाम्रो खेलकुदबाट ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button