
काठमाडौं । प्रधानमन्त्री दाहाललाई आज योग गुरु रामदेवले योगा सिकाउनु हुने भएको छ ।
प्रधानमन्त्री दाहाल आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जाने कार्यक्रम छ । खप्तडमा मंलबारदेखि तीन दिने खप्तड आध्यात्मिक सम्मेलन शुरु हुँदैछ । प्रधानमन्त्री दाहाल आध्यात्मिक सम्मेलन उद्घाटनका लागि खप्तड जान लाग्नुभएको हो ।
सम्मेलनमा योग गुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण र चतरामा बस्दै आउनुभएका महायोगी जगत् गुरु शिद्धबाबा कृष्णदास महाराज लगायतको सहभमगिता रहने छ । सम्मेलनमा सहभागीलाई पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम छ । त्यस अवसरमा रामदेवले प्रधानमन्त्री दाहाललाई पनि योगा सिकाउने कार्यक्रम छ । सम्मेलनमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिनेछ ।
खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडीबूटीका लागि प्रख्यात छ । डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाले घेरिएको खप्तड क्षेत्र २२ पाटन, २५ मैदान र ५२ वटा थुम्काले भरिपूर्ण छ । जैविक विविधता युक्त खप्तडमा सयौँ प्रजातिका चरा, ३ सय ७२ प्रजातिका वनस्पति र १ सय ३० किसिमका जडीबूटी पाइन्छन्।जनता समाचार



