मूल खबर

युवालाई युरोपको आकर्षण देखाई हुने ठगी बढ्दो

काठमाडौँ । केही संस्था वा व्यक्तिले भ्रमण भिसाका विभिन्न मुलुकमा आकर्षक तलब र सेवासुविधा उपलब्ध गराउने भन्दै नेपाली युवालाई ठगी गरेकोप्रति वैदेशिक रोजगार विभागको ध्यानाकर्षण गराएको छ ।

विभागले विज्ञप्तिमार्फत नेपाली युवालाई युरोपका विभिन्न देशमा लगेर अलपत्र पारेका उजुरी आउने क्रम बढेकाले यसप्रति ध्यानाकर्षण भएको जनाएको हो।

विभागका अनुसार शैक्षिक परामर्शनका लागि खोलिएका कन्सल्टेन्सी, व्यक्तिले फेसबुक, युट्युबमार्फत फिलिपिन्स, माल्टा, इजरायललगायतका देशमा आकर्षक तलबको प्रलोभन देखाउने, ठूलो परिणाममा रकम असुल गर्ने र युवालाई अवैध ढङ्गबाट पठाई विदेशमा अलपत्र पार्ने घटना बढ्दै गएको छ ।

सरकारबाट अनुमति नभएका संस्था वा व्यक्तिको कुरालाई विश्वास गरी विदेश नजान आमयुवालाई आग्रह गर्दै यसरी ठगी गर्ने संस्था वा व्यक्तिलाई कानुन अनुसार हदैसम्म कारबाही हुने विभागका प्रवक्ता गुरुदत्त सुवेदीले बताउनुभयो । विभागले ठगी नियन्त्रणका लागि अनुगमनलाई तीव्रता दिने, अनलाइनमार्फत उजुरी दिन सकिने, सामाजिक सञ्जालमाथि निगरानी बढाउनेलगायतका कार्य बढाउन थालेको पनि उहाँको भनाइ छ ।

विभागका अनुसार हाल विभागका तीन जना निर्देशकको नेतृत्वमा अनुगमन समिति बनेको छ ।

अर्को सातादेखि समितिलाई परिचालन गरेर अनुगमन थालिने छ । त्यस्तै अनलाइनमार्फत समेत उजुरी दिन मिल्ने व्यवस्था गर्न लागिएको छ । विभागले हाल अनलाइनमार्फत श्रम स्वीकृति, पुनः श्रम स्वीकृतिको मात्र काम गर्दै आएको छ ।

वैदेशिक रोजगारीसम्बन्धी आउने उजुरीलाई समेत अनलाइनमार्फत नै दिन मिल्ने बनाउन लागिएको विभागले जनाएको छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मार्फत श्रमसम्बन्धी काम हुँदै आएको छ ।

अहिले संस्थागतभन्दा बढी व्यक्तिगत रूपमा ठगीका घटना आइरहेको विभागका निर्देशक सुवेदीको भनाइ छ । कन्सल्टेन्सीबाट हुने ठगीका घटनासमेत दिनप्रतिदिन बढिरहेको उहाँले बताउनुभयो ।गोरखापत्र अनलाइन

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button