
काठमाडौं। अग्रिम टिकट बुकिङ् खुलेको पाँच दिनमा झण्डै एक लाखले अग्रिम टिकट बुकिङ् गरेका छन् । काठमाडौंबाट दसैं, तिहार तथा छठ पर्वमा घर जानका लागि ९५ हजार बढी यात्रुले अग्रिम टिकट लिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव टेकनाथ गौतमले बताउनुभयो।
अग्रिम रुपमा काटिएका टिकटहरुमध्ये २० प्रतिशत अनलाइनबाट बुकिङ् भएको उहाँको भनाइ छ । सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्षितगरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो।
नयाँ बसपार्कबाट देशको ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत हुँदैआएका छन्। सरकारले सोमबारदेखि लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनलाई लक्षितगरी अग्रिम टिकट खुलाए पनि छोटो दूरीमा जाने सवारी साधनका लागि भने आज (घटस्थापना) देखि खुलाउने तयारी गरेको जनाएको छ।जनता समाचार



