मूल खबर

कांग्रेसका ८ भाइले युद्ध जितेर फूलमाला लगाएपछि हामीले गला जोड्यौँ : उद्धव थापा

विराटनगर।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस सांसद उद्धव थापाले कांग्रेसमा विद्रोह गरेर मुख्यमन्त्री बनेका केदार कार्कीसँग गाला जोडेको बताएका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलमा भाग लिँदै थापाले आफ्ना साथीले युद्ध जितेर आएकाले गला मिलाएको बताए।

कांग्रेसमा विद्रोह गरेर ८ सांसदले एमालेसँग मिलेर कार्कीलाई मुख्यमन्त्री बनाएका थिए ।

त्यसरी पार्टीमा विद्रोह गर्ने सांसदहरूसँग अब सौहार्द वातावरण बनेको थापाको भनाइ थियो । कार्की मुख्यमन्त्री बनेपछि कांग्रेस कोशी प्रदेशसभा संसदीय दलको नेताबाट राजीनामा दिएका थापाले अब मिलेर अगाडि बढ्नुपर्ने बताए ।

‘कांग्रेस दलबाट ८ भाइ हाम्रा माननीयहरूले सरकार निर्माणका निमित्त मुख्यमन्त्री बन्ने कुरामा दलभित्र झगडा गर्नुभयो, कराउनुभयो, कुण्ठा बोकेर हिँड्नुभयो, संघर्ष गर्नुभयो, अन्तिममा युद्धको मैदानमा पनि पुग्नुभयो र युद्ध पनि जितेर आउनुभयो । युद्ध पनि जितेर आइसकेपछि फूलमाला लगाएर घरमा आइसकेपछि हामीले गला लगाउने भन्दा अर्को कुरा छैन,’ उनले भने, ‘युद्ध नै जितेर आइसकेपछि सबै कुरा बिर्सियौं अब सम्मानका साथ मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनको तर्फबाट विश्वासको मत दिँदैछौं । कांग्रेसले हाम्रा ८ भाइ सांसदसँग गला पनि जोड्यौं । कहिले नटुट्ने त्यो गला जोड्यौं ।’

एमालेलाई सरकारमा सहभागिताबारे सोच्न पनि थापाले आग्रह गरे । उनले कार्की मुख्यमन्त्रीमा गठबन्धनको साझा उम्मेदवार रहेको पनि बताए । कोशी प्रदेशमा सरकार गठनलाई समस्याको रूपमा हेर्दा अस्थिरता उत्पन्न भएको थापाको भनाइ थियो । उनले अहिले समाधान निस्किएको बताए ।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button