
काँकरभिट्टा । नेपाली काँग्रेस झापा क्षेत्र नं १ ले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै झापाको मेचीनगर नगरपालिकाको कार्यालय भ्रष्टचार र कुशासनकाको अखडा बनाएको कारण मेचीनगरबासीको दैनिक काम कारबाहीमा समस्या उत्पन्न भएको अवस्थालाई नेपाली काँग्रेसले मुख दर्शक भएर नबस्ने चेतावनी दिएको छ ।
नेपाली काँग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नागरिकको दैनिकीलाई सजिलो बनाउने काममा जनप्रतिनिधि लाग्नु पर्ने अवस्थामा जनप्रतिनिधिले नेतृत्व गरेको संस्था नै भ्रष्टचार र कुशासनको नमूना बन्दै गएको बिषयमा नेपाली काँग्रेस मुख दर्शक भएर नबस्ने चेतावनी समेत दिन चाहन्छौं ।’ ‘नगरको रचनात्मक काममा काँग्रेस सदैव सहयोगी बनेको छ र बन्ने छ । नगरपालिकाको आन्तरिक बिषय निर्वाचित भएका जनप्रतिनिधिहरुले निराकरण गर्नुपर्छ भन्ने मान्यता नेपाली काँग्रेसको रहेको छ,’ विज्ञप्तीमा भनेको छ, ‘तर काँग्रेस मौन बस्नुलाई कमजोरीका रुपमा नबुझ्न पनि हामी यसै विज्ञप्ती मार्फत स्पष्ट पार्न चाहन्छौं ।’ विज्ञप्ती मार्फत नेपाली काँग्रेसले नगरपालिका नेतृत्वसंग केही प्रश्न समेत उठाएको छ । काँग्रेसले विज्ञप्तीमा भनेको छ, ‘नगरपालिकाको कर्मचारी नेतृत्व प्रमुख प्रशासकीय अधिकृत छोटो छोटो समयमा यहाँबाट अन्यत्र जानु पर्ने, जुनसुकै प्रमुख प्रशासकीय अधिकृत आउँदा पनि जनप्रतिनिधिहरुसँग नै पटक पटक बिवाद हुनु पर्ने आखिर समस्या मेचीनगरमा आउने प्रमुख प्रशासकीय अधिकृतको मात्रै हो त ?ै कि समस्या मेचीनगर भित्रै छ? मेचीनगरको नेतृत्वलाई हाम्रो प्रश्न छ ।’




