मूल खबर

मेलम्ची खानेपानी मर्मतको काम अन्तिम चरणमा

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । बाढीले ध्वस्त बनाएको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ । बुधबार हेलम्बु–१ अम्बाथानस्थित मुहानस्थलमा अवलोकनका लागि पुगेका प्रतिनिधिमण्डललाई त्यहाँ भइरहेको कामबारे जानकारी गराउँदै आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले सो कुराको जानकारी दिनुभयो ।

उहाँले अबका बाँकी काम केही कठिन रहेको जनाउँदै जस्तोसुकै परिस्थिति आए पनि अबको १० दिनभित्र काम सम्पन्न हुने बताउनुभयो। उहाँले सरकारको लक्ष्यअनुसारनै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको बताउनुभयो । सांसद अमरेशकुमार सिंहले सरकारले मेलम्ची आयोजनालाई प्राथमिकता दिएर बाह्रै महिना काठमाडौँवासीलाई पानी खुवाउनुपर्ने बताउनुभयो ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले दीर्घकालीन रुपमा काठमाडौँमा पानी लाने गरी काम गर्न लागि परेको बताउनुभयो । अवलोकनमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, सांसद सिंह, वित्त आयोगका सदस्य जुद्द गुरुङ, विपिनराज निरौला, खानेपानी मन्त्रालयका सचिव आचार्य, खानेपानी विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीलगायतको सहभागिता रहेको थियो । अहिले ४५ जना कामदारले द्रुत गतिमा काम गरिरहेको इन्जिनियर कुँवरले बताउनुभयो ।

गत वर्षको बाढीले हेडवर्क्सको संरचनालाई करिब २० फिट अग्लो गेग्रानले पुरेको थियो । अहिले उक्त गेग्रान हटाएर अर्डिट सुरुङमा पसेको ढुङ्गा, गिट्टी र बालुवा झिक्ने काम भइरहेको छ । विसं २०७८ असारमा आएको बाढीले मुहान क्षेत्रलाई तहसनहसनै बनाएपछि पानी काठमाडौँ अस्थायीरुपमा ल्याउने गरिएको छ ।हिमालय टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button