मूल खबर

राष्ट्रिय सभाको उम्मेदवार सिफारिसमा कांग्रेसबाट सभापति देउवाको एकलौटी

निराजन पौडेल

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रिय सभामा पटकपटक अवसर पाएकालाई प्राथमिकतामा राख्दै उम्मेदवार बनाउन खोजेका छन् । देउवाले आफू पक्षका ६ जनालाई राष्ट्रिय सभामा लैजाँदै छन् ।

देउवाले राष्ट्रिय सभामा लैजान लागेमध्ये निर्वाचनमा पराजित भएकादेखि आफ्नो विश्वासमा रहेका नेतालाई राष्ट्रिय सभा निर्वाचनमा सिफारिस गर्न लागेको काँग्रेसका एक नेताले जानकारी दिए । अघिल्लो वर्ष मंसिरमा भएको निर्वाचनमा झापा–३ बाट पराजित कृष्णप्रसाद सिटौला, अर्घाखाँचीबाट पराजित भएकी नेतृ पुष्पा भुसाललाई राष्ट्रिय सभामा लैजाने सूचीमा छन् ।

त्यस्तै, अपांगता भएको कोटामा नारायणदत्त भट्ट अनि अन्य पुरुष कोटामा संविधानसभा सदस्य कञ्चनपुरका बलदेव बोहरा रहेका छन् । त्यस्तै, बाग्मती प्रदेशबाट देउवाले आफ्नो कोटामा कलाकार नीर शाह र केन्द्रीय सदस्य जितजंग बस्नेतको नाम छ । त्यस्तै, बाँकी रहेका सिटमा संस्थापनइतर समूहलाई छुट्याएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि एउटा मापदण्ड बनाएर मात्रै सिफारिस गर्न भने पनि देउवाले सो विषयलाई पुरै नजरअन्दाज गरिदिने भएका छन् । १२ पुस देखि १४ गतेसम्म तीन दिन चलेको कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय नम्बर दुईमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयनसम्बन्धी विषयले स्थान पाएको छ ।

‘पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पु-याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ निर्णयमा लेखिएको छ । तर, देउवाले सो निर्णयलाई उल्टाउँदै आफू खुसी राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्न लागेका छन् ।

पार्टीका महामन्त्री गगन थापाले राष्ट्रिय सभा सदस्यको मापदण्डाको विषयलाई लिएर सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए । महामन्त्री थापाले कांग्रेस भक्तपुर–२ को क्षेत्रीय सम्मेलनका क्रममा उम्मेदवारको नाम सभापतिको कोटको खल्तीमा भएको बताएका थिए । संसदीय बोर्डमा गुटको टाउको गनिने र सभापति बोलेपछि धन्यवाद भन्ने प्रचलन कांग्रेसमा रहेको थापाको भनाइ थियो । उनले विधि नबदल्ने हो भने कांग्रेसमा संगठित भएका लाखौं मान्छेलाई आफूमाथि अन्याय भएको लागिराख्ने बताए । महासमितिको बैठक आउँदै गरेकाले उम्मेदवार चयनको विधित्यहाँ छलफल गरिनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय सभामा ९ जना उम्मेदवार बनाउनुपर्ने भएता पनि प्रत्येक प्रदेशले ३०० जनाको नाम पठाइदिएको उनको भनाइ छ । यसरी २ हजार १०० नामबाट काँटछाँट गरेर हजार जना बनाइने र उनीहरूको विषयमा संसदीय बोर्डमा छलफल भए पनि अन्तिममा सभापतिले कोर्टको खल्तीबाट उम्मेदवारको सूची निकाल्ने काम हुने गरेको थापाको भनाइ छ ।

२१ फागुनबाट राष्ट्रियसभाका २० जना सदस्यको पदावधि सकिएको छ । जसमध्ये १९ जना निर्वाचित र १ जना राष्ट्रपतिबाट मनोनित हुने छन् । १९ सदस्य चयन गर्न माघ ११ गते निर्वाचन हुने छ । निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ ।राजधानी दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button