खबर

थाम्सुहाङ दम्पतीले पाए नगर प्रमुखबाट घर उपहार

नयाँमा घरमा थाम्सुहाङ दम्पती । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम ।

राज्यले उपलब्ध गराएको सुविधा विपन्न समुदायको उत्थानका लागि खर्च गर्ने प्रतिबद्वता जनाउनु भएका फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले वडा नम्वर १२ बुधुकको जङ्गल नजिकै छाप्रोमा जीवन बिताउँदै आएका एक दम्पतीलाई घर बनाइ दिनुभएको छ । काफ्लेले स्थानीय कर्णबहादुर थाम्सुहाङ र मनमाया थाम्सुहाङलाई ढुङ्गा माटो, काठ र टिन प्रयोग गरेर २ तले चिटिक्क परेको घर बनाइ दिनु भएको हो ।

उहाँले निर्वाचन पूर्व आफ्नो सङ्कल्प पत्रमा नगर प्रमुखलाई राज्यले उपलब्ध गराउने सुविधा छुट्टै कोषमा राखी विपन्न समुदायको जन जीविका, शिक्षा, स्वास्थ्य र आय आर्जनको क्षेत्रमा खर्च गर्ने प्रतिबद्वता जनाउनु भएको थियो ।

सोही अनुसार उहाँले यसअघि पनि नगर क्षेत्रका विपन्न समुदालाई विभिन्न किसिमका सहयोग गर्नुभएको छ । यसपटक उहाँले थाम्सुहाङ दम्पतीलाई एक लाख ६५ हजार रुपियाँ खर्च गरेर घर बनाइ दिनुभएको हो । दुई तले उक्त घर बुधवार हस्तान्तरण गरिएको छ ।

आफ्नो नाममा जग्गा जमिन नभएका थाम्सुहाङ दम्पती गिटी कुटेर जीवनयापन गर्छन् । यो दम्पती यसअघि स्थानीय पदम रिमालको जग्गामा कटेरो बनाएर जीवन यापन गर्दै आएको थियो ।

सुत्न र बस्नसमेत नसकिने साँघुरो कटेरोमा जीवनयापन गरिरहेका दम्पतीको दयनीय अवस्था देखेपछि घर बनाउने इच्छा जागेको काफ्लेले बताउनुभयो । घर हस्तान्तरण गर्न काफ्ले पुग्दा थाम्सुुहाङ भक्कानिनु भएको थियो ।
गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button