मूल खबर

समाजवादको विषयमा राजनीतिक दलहरुबीच न्यूनतम साझा बुझाई आवश्यक : नेता शर्मा

ललितपुर।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं नेता अनिल शर्माले वर्तमान राजनीतिक संकट निकासको लागि नेपालको विशेषतासहितको समाजवादको विषयमा राजनीतिक दलहरुबीच न्यूनतम साझा सहमति हुनुपर्ने खाँचो औँल्याए ।

पार्टीको ललितपुर महानगरसमितिले शनिवार लगनखेलमा आयोजना गरेको वर्तमान संकट र यसको समाधान विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो खाँचो औँल्याए।

सो पार्टीका ललितपुरका बुद्धिजीवी, सामाजिक अभियन्ता,अधिवक्ता, पत्रकार र विविध पेशाकर्मी उपस्थिति सो अन्तरक्रियामा नेता शर्माले भने ‘आजका अधिकांश राजनीतिक दल कुनै न कुनै समाजवादप्रति प्रतिबद्ध छन्।समाजवाद सबैले स्वीकार गरेका छन्।त्यसैले समाजवाद मान्ने सबै राजनीतिक दलहरुबीच समाजवादबारे न्यूनतम साझा सहमति हुनु आवश्यक छ ।’ आन्दोलनबारे आएका दलहरुबीच समाजवादबारे न्यूनतम साझा बुझाई नभएमा नेपालको राजनीतिक क्रमशः पश्चगमन वा फासीवादको खतरा रहेको पनि नेता शर्माको भनाई रहेको छ ।

२०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि नेपालले अवलम्बन गरेको नवउदारवादको अर्थनीतिले गर्दा व्यापारीकरण र निजीकरणको चपेटामा स्वदेशी कच्चापदार्थबाट उत्पादन हुने सारा उद्योगहरू ध्वस्त भएको जनाउँदै नेता शर्माले भने ‘यसले गर्दा पनि अर्थतन्त्रमा छिमेकी मुलुक भारततर्फ नेपालको निर्भरता बढेको हो। सन् १८२५ को सुगौलीसन्धीदेखि नै नेपालको स्वदेशी उत्पादन, उद्योगहरू धराशायी बन्ने क्रम शुरु भएको बताउँदै उनले नेपालका समृद्धिको लागि ससाना घरेलु उद्योग, मझौला उद्योगलाई प्रवर्द्धन गर्ने अर्थनीति अँगाल्नु पर्नेमा जोड दिए।नेपाल भूपरिवेष्टित मुलुक भएकोले पनि नेपाल अर्थतन्त्रमा भारतसँग बढीभन्दा बढी निर्भर हुनुपरेको उनको भनाई थियो।

काम नगरीकन खाने, रातारात धनी बन्ने र कमिसन चक्करमा परेका वर्ग ‘ दलाल पुँजीवाद’ र ‘माफिया’ को चंगुलमा राजनीति रहेको भनाई राख्दै नेता शर्माले मुलुकको अर्थतन्त्र, स्रोत र साधन सबै तिनकै हातमा रहेको बताए । राणाकालदेखि आज संघीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपाल आईपुग्दासम्म राजनीतिमा पात्र फेरिए र प्रवृत्ति नफेरिएको चर्चा गर्दै उनले भने ‘राजनीतिमा रविको उदय भयो।के सेनाको संरचना फेरिन्छ। के सीमित वर्गको कब्जामा रहेको अर्थतन्त्र बहुसंख्यक देश र जनता हात आउँछ ? पात्र फेरिए पनि प्रवृत्ति नफेरिएको भनेको यही हो ।’नेता शर्माले भने।

‘जहाँ अर्थतन्त्र केन्द्रित हुन्छ।त्यहाँ राजनीतिक र संस्कृति केन्द्रित हुन्छ। यसले गर्दा राजनीतिक व्यवस्था, लोकतन्त्र, गणतन्त्र धनीमानीको मात्र भएको छ।यस्तो राजनीतिक व्यवस्था फेर्ने पर्दछ । उनले भने। अहिले नै वैज्ञानिक समाजवादमा पुग्न नसकिए पनि समाजवादको विषयमा न्यूनतम साझा धारणा बनाएर अघि बढ्न सकिने पनि नेता शर्माको भनाई रहेको छ।

सो अवसरमा विभिन्न राजनीतिक दलका जिल्लास्तरीय नेताहरुले राजनीतिक दलका नेताहरुको चरित्रले गर्दा आज संकट जन्मिएकोमा केन्द्रित गर्दै आआफ्नो धारणा राखे।

सो पार्टीका ललितपुर इन्चार्ज बज्रले समाजका विविध क्षेत्र क्रियाशील व्यक्तिहरुबाट धारणा सुन्ने र पार्टीको धारणा राख्ने नीति अनुसार अभियानकै रुपमा विभिन्न स्थानीय तहमा अन्तरक्रिया कार्यक्रम गर्दै आएको बताए।न्युज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button