
फाइल तस्बिर
काठमाडौं । रौतहट जिल्ला अदालतले विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश गरेको छ ।
आइतबार न्यायाधीश मातृकाप्रसाद आचार्यको एक इजलासले गौरीशङ्कर रामको स्वास्थ्य परीक्षणबारे फरेन्सिक विभागसँग बुझ्ने आदेश गरेको हो ।
साथै सरकारी साक्षी तथा गवाह बुझ्ने गरी पनि न्यायाधीश आचार्यको इजलासले आदेश दिनुभएको रौतहट जिल्ला अदालतका स्रेस्तादार उद्धव ढोडारीले जानकारी दिनुभयो ।
वि.सं २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि छ । आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामै छन् ।
२०६४ सालको संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरूलाई इँटाभट्टामा हालेर जलाएको आरोप पूर्वमन्त्रीसमेत रहेका आलममाथि लागेको छ ।
२०७६ कात्तिक १८ गते आलममाथि रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएको थियो । यो मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन्।
पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध आलमले उच्च अदालत वीरगञ्जमा पुनरावलोकनका लागि निवेदन दिएका थिए। २०७६ माघ २४ गते उच्च अदालतले जिल्लाको आदेश सदर गरेपछि आलम सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले गत २३ वैशाखमा धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेको थियो । यो मुद्दामा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित ११ जना प्रतिवादी छन् ।
गोरखापत्र अनलाइन



