
पार्टीप्रति आकर्षण बढेको प्रदेश इञ्चार्जहरूको ब्रिफिङ
अनिल क्षेत्री
काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सफल भएको निष्कर्ष निकालेको छ । माओवादी केन्द्रको आइतबार बसेको पाँचौँ केन्द्रीय कमिटी पूर्ण बैठकमा प्रदेश इञ्चार्ज तथा अध्यक्षहरूले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सफल भएको प्रतिवेदन पेस गरेका हुन् । बैठकमा सातवटा भौगोलिक र अन्य तीनवटा गैरभौगोलिक गरी १० प्रदेशका इञ्चार्ज र अध्यक्षहरूले अभियानको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठकमा अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका प्रमुखले पनि धारणा राखेका थिए । उपाध्यक्षसमेत रहनुभएका पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा बोल्ने सबै नेताहरूले विशेष रूपान्तरण अभियान सफल र सार्थक भएको प्रतिवेदन पेस गरेको जानकारी दिनुभयो । अभियानका क्रममा ७५ प्रतिशत नेता, कार्यकर्ता परिचालित भएका र अभियानले जनतामा माओवादी केन्द्रप्रति आशा जगाएको पार्टीको निष्कर्ष रहेको जानकारी दिँदै प्रवक्ता सापकोटाले भन्नुभयो, ‘अभियानले कसले कति काम गर्यो ? कसले गरेन ? को सक्रिय भयो, भएन भन्ने कुरा धेरै राम्रोसँग थाहा भएको छ र मूल्यांकनको आधार राम्रो बनेको छ । अभियानले जनतामा आशा जगाएको छ ।
अभियानभन्दा पहिला हाम्रो पार्टीबाट अन्यत्र जाने क्रम बढेको थियौँ । अभियान सुरु भएपछि अन्य पार्टीबाट आउने क्रम बढेको छ । सबै प्रदेशहरूमा त्यो देखापरेको छ । रिपोर्टमा अभियान सफल भएको छ । सार्थक भएको छ । हामीले जे लक्ष्य र उद्देश्य राखेर यो अभियान सञ्चालन गरेका थियौँ यो अभियान सफल भएको छ भन्ने निष्कर्ष नै छ ।’
पार्टी प्रवेशको क्रम बढ्दै गएको दाबी
केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकमा प्रदेश इञ्चार्जहरूले पार्टीले चलाएको चार महिने अभियानका कारण माओवादीप्रतिको आकर्षण बढेको दाबी गरेका छन् । गत भदौ १६ देखि पुस १७ गतेसम्म पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी अभियान’ को समीक्षा प्रतिवेदन पेस गर्दै प्रदेश इञ्चार्जहरूले माओवादीमा फेरि एक प्रकारको नयाँ लहर सुरु भएको बताएका हुन् । बैठकको सुरुमा रिपोर्टङ गर्दै इञ्चार्जहरूले जनतासँगको अन्तरक्रियाले माओवादी आगामी चुनावमा पहिलो दल बन्ने आधार तयार गरेको समेत दाबी गरेका छन् ।
उपत्यका विशेष कमिटीका इञ्चार्ज वर्षमान पुनले आगामी चुनावमा माओवादीलाई पहिलो दलको रूपमा स्थापित गर्ने सम्भावना रहेको जिकिर गर्दै भन्नुभयो, ‘पार्टीले चलाएको अभियानले नयाँ उत्साह दिएको छ, विचार, संगठन र विधि प्रक्रियामार्फत महाधिवेशनमा जाँदा आगामी चुनावमा माओवादीलाई एक नम्बर बनाउने आधार छन् ।’ कर्णाली प्रदेशका इञ्चार्ज मात्रिका यादवले कर्णालीमा पार्टी सशक्त रहेको जिकिर गर्दै भन्नुभयो, ‘कर्णालीमा काम गर्दा मलाई पनि नयाँ अनुभव भयो, पार्टी सशक्त छ, बाहिर प्रचार गरेजस्तो कमजोर भएको छैन ।’
लुम्बिनी प्रदेश इञ्चार्ज हितमान शाक्यले पार्टी छाडेर जाने क्रम रोकिएर प्रवेशको लहर चलिरहेको दाबी गर्दै भन्नुभयो, ‘बाहिर प्रचार गरिएजस्तो माओवादी कमजोर भएको छैन, बरु पार्टी प्रवेशको लहर बढिरहेको छ ।’ केही इञ्चार्जहरूले भने पार्टीको नेतृत्वमा सरकार भए पनि कार्यकर्ता पंक्ति र जनतामा उत्साह नभएको टिप्पणी गरेका छन् ।
पार्टी बन्ने आत्मविश्वास बढ्यो : शर्मा
नेकपा माओवादी केन्द्र बागमती प्रदेशका इञ्चार्ज जनार्दन शर्माले माओवादी विशेष रूपान्तरण अभियानबाट पार्टी बन्ने आत्मविश्वास बढेको बताउनुभएको छ । आइतबार राष्ट्रियसभा गृहमा माओवादीको जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टी उपमहासचिवसमेत रहनुभएका शर्माले पार्टी रूपान्तरण अभियानबाट नेता तथा कार्यकर्तामा पार्टी बन्ने विश्वास जगाएको बताउनुभएको हो । उहाँले अभियानमा ६८ प्रतिशत पार्टी क्रियाशील भएको दाबी गर्नुभयो ।
सहरवासी र मध्यम वर्गसँग जोडिन नसकेको निष्कर्ष
नेकपा माओवादी केन्द्रका बागमती प्रदेश इञ्चार्ज जनार्दन शर्माले पार्टी अझै पनि सहरवासी र मध्यम वर्गसँग जोडिन नसकेको बताउनुभएको छ । पार्टीका उपमहासचिवसमेत रहनुभएका इञ्चार्ज शर्माले ०६४ को उभारलाई जोगाउन नसक्दा माओवादीमा क्षयीकरण देखिएको विश्लेषण गर्दै भन्नुभयो, ‘बागमतीका खासगरी उपत्यकाभित्र अझै पनि माओवादी छिर्न सकेको छैन । बागमती प्रदेशको सांस्कृतिक र सामाजिक संरचनाका आधारमा माओवादी काठमाडौंमा जोडिनुपर्यो । संघ-संस्थासँग जोडिएर जनतामाझ पुग्नुप¥यो । मध्यमवर्ग, सहरवासी र सुकुम्बासीहरूसँग जोडिएमा पार्टी बन्छ ।’
करिब बहुमत नजिकको ०६४ सालको उभारलाई जोगाउन नसक्दा माओवादीले जनमत गुमाउन पुगेको सुनाउँदै शर्माले भन्नुभयो, ‘०६४ को निर्वाचनको उभारलाई हामीले जोगाउन सकेनौँ, क्यास गर्न सकेनौँ । पशुपति मन्दिर लगायतका घटनाहरूका कारण पनि समस्या भयो । अर्कातिर नेवार समुदायका चाडपर्वलाई पनि हामीले ख्याल गरेनौँ । पशुपति लगायतका घटनाले हामीलाई धक्का दियो ।’ शर्माले सशस्त्र संघर्षका क्रममा पार्टीबाटै गाउँदेखि लखेटिएकाहरूले सहरी मनोविज्ञान नकारात्मक बनाउन भूमिका खेलेको निष्कर्ष सुनाउँदै भन्नुभयो, ‘गाउँ छाडेर सहर पसेकाहरू, संघर्षका क्रममा लखेटिएकाहरूले पनि माओवादीप्रति सहरिया मनोविज्ञान नकारात्मक बनाउन भूमिका खेले ।’ बैठकमा बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्री पौडेलले पार्टीलाई चलायमान बनाउन अभियान जारी राख्नुपर्ने धारणा राख्नुभयो ।हिमालय टाइम्सबाट ।



