मूल खबर

नेपालमा पहिलोपटक महिला समलिंगीको विवाह दर्ता

नेपालमै पहिलोपटक महिला समलिंगीको विवाह दर्ता गरेका अन्जुदेवी श्रेष्ठ र सुप्रिता गुरुङ। तस्बिर : शंकरप्रसाद खनाल।
शंकरप्रसाद खनाल

नेपालगन्ज : बर्दियाको बढैयाताल गाउँपालिकाले महिला समलिंगी (लेस्बियन)को विवाह दर्ता गरेको छ। नेपालमा समलिंगीको विवाह दर्ता दोस्रो र लेस्बियन जोडीको विवाह भएको पहिलो हो।

सामाजिक सञ्जालबाट जोडिएर पाँच वर्षदेखि सम्बन्धमा रहेका बढैयाताल–२ का हर्खबहादुर श्रेष्ठ र टीकाकुमारी श्रेष्ठका ८ सन्तानमध्ये ३३ वर्षीया दुलाहा अन्जुदेवी श्रेष्ठ र तनहुँको बन्दीपुर गाउँपालिका–५ का शेरबहादुर गुरुङ र माया गुरुङका चार सन्तानमध्ये कान्छी छोरी ३३ वर्षीया दुलही सुप्रिता गुरुङलाई आइतबार गाउँपालिकाले विवाह दर्ताको प्रमाणपत्र दिएको हो। बढैयाताल गाउँपालिका २ का वडासचिव तथा स्थानीय पञ्जिकाधिकारी दीपक नेपालीले पञ्जीकरण विभागकोे प्राविधिक शाखासँग समन्वयपछि कानुन बन्दाका बखत सोही अनुसार हुने गरी हाललाई अस्थायी विवाह दर्ता गरिएको टिप्पणी लेखेर विवाह दर्ताको प्रमाण पत्र दिएका छन्। अञ्जुका चार भाइ र चार बहिनी गरी ८ भाइबहिनी छन्। उनी बहिनीतिरबाट साहिली हुन्। सुप्रिताका दुई दाइ र एक दिदी छन्। उनी सबैभन्दा कान्छी हुन्।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वकालत गर्दै आएका सामाजिक संस्था पश्चिम तारा नेपाल नेपालगन्ज र मायाको पहिचान नेपाल काठमाडौंंले दक्षिण एशियामा नै पहिलो पटक लेस्बियन जोडीको विवाह दर्ता भएको दाबी गरेको छ। यसअघि लमजुङको दोर्दी गाउँपालिकाले १३ मंसिर २०८० मा नेपालमै पहिलो पटक समलिङ्गी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह दर्ता गरेको थियो। गुरुङ पारलैंगिक महिला हुन्। जसलाई कानुनले पुरुषका रूपमा चिन्दछ। पाण्डे पनि पुरुष नै हुन्। उनीहरूले सन् २०१७ मा हिन्दू परम्पराअनुसार विवाह गरेका थिए।

लेस्बियन जोडीले विवाह दर्तापछि सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर खुशी साटेका थिए। पत्रकार र समलिंगी साथीहरूलाई भोज पनि खुवाएका थिए।अन्नपूर्ण पोष्ट दैनिकबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button