
अनिल क्षेत्री
काठमाडौं । १ फागनुदेखि काठमाडौंमा सुरु भएको नेकपा माओवादी केन्द्रको विधान अधिवेशन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान मस्यौदा परिमार्जनसहित पारित गर्दै सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रले तत्काल पार्टीको नाम र चुनाव चिहृन नफेर्ने भएको छ । पार्टीको विधान अधिवेशनमा २० समूहबाट प्राप्त सुझावको निष्कर्ष सुनाउँदै पार्टी अध्यक्ष प्रचण्डले तत्काल चुनाव चिहृन र पार्टीको नाम नफेर्ने निष्कर्ष सुनाउनुभएको हो ।
विधान सम्मेलनमा सहभागीहरूले पार्टीको नामसँगै चुनाव चिहृन बदल्नुपर्ने माग गरेका थिए । मंगलबारदेखि सुरु विधान अधिवेशनको क्रममा सहभागीहरूले उठाएको प्रश्नको बिहीबार जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले अहिले पार्टीको नाम र चिहृन नबदल्ने बताउनुभएको हो । आवश्यक परे यसबारे पछि निर्णय दिने भन्दै अध्यक्ष प्रचण्डले तत्काल पार्टीको नाम र चुनाव चिहृन (नेकपा माओवादी केन्द्र र गोलाकारभित्र हँसिया हथौडा) यथावत् रहने स्पष्ट पार्नुभएको हो । केही समूहले सबै माओवादी मोर्चाहरूबीच एकताको पहल गरेर दुवै कुरा फेर्ने कुरा उठाएका थिए । माओवादी नाम फेरेर केही समूहले नेकपा समाजवादी राख्नसमेत सुझाएका थिए । तर, तत्काललाई ती सुझाव लागू नहुने भएका हुन् । पार्टीको नाम फेर्न सकिने भए पनि विधान सम्मेलनको हलबाट निष्कर्षमा पुग्नु वस्तुवादी नहुने स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पार्टीको नामबारे साथीहरूले सुझबुझ तरिकाले विषय राख्नुभएको छ । मुख्य कुरा पार्टीको पहिचान हो । नाम पहिला अनेक भए । कहिले मसाल, एकीकृत माओवादी, नेकपा चौम थियौँ । नाम आवश्यकताअनुसार बदल्ने हो ।
देशको हितमा के हुन्छ त्यही गरिन्छ । चुनाव चिहृन पनि फेर्न नसकिने कुरा होइन । तर, जसरी मनलाग्यो त्यसरी फर्ने पनि होइन । नामको विषयमा केही समयअगाडि कार्यालयको बैठकले अरू पार्टीसँग एकताको सन्दर्भमा कुरा चलिरहँदा नेकपा शब्द छाड्न सकिँदैन तर, त्यसपछि समाजवादी, समाजवादी केन्द्र राख्न सकिन्छ । फेरि पनि पार्टीहरूबीच एकता हुने भयो भने त्यतिबेला नामका बारेमा सोच्न वा फेर्न सकिन्छ । यही हलबाट नाम फेर्ने निष्कर्ष निकाल्नु वस्तुवादी हुँदैन ।’हिमालय टाइम्सबाट ।



