खबर

कांग्रेस महासमिति बैठक भोलिदेखि,नागरिक हकलाई सर्वोपरि मान्ने

अशाेक अधिकारी

ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि सुरु हुँदै छ । नीति अधिवेशनको समेत कार्यादेश पाएको महासमिति बैठकमा कांग्रेसको भाबी नीति र कार्यक्रममाथि मन्थन भई पारित हुने छ ।

ललितपुरको गोदावरीमा फागुन ७ देखि १० गतेसम्म आयोजना हुने महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकबाट प्राप्त सुझावसहित प्रस्तुत गर्नुहुने छ ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले परिवर्तनका हरेक आन्दोलनको अगुवाइ र संविधान निर्माणको नेतृत्व गरेको कांग्रेसले संविधान कार्यान्वयन गरी समुन्नत नेपाल निर्माण कार्यभार पूरा गर्न नेतृत्व गर्ने कार्ययोजनासहितको नीति महासमिति बैठकबाट पारित गर्ने बताउनुभयो ।

राजनीतिक विश्लेषक एवं प्राध्यापक कृष्ण पोखरेल र राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले संविधानको मर्म र नागरिकको अधिकारका सम्पूर्ण विषयको प्रभावकारी कार्यान्वयन गर्ने गरी निर्णयमा पुग्न कांग्रेसलाई सुझाव दिनुभएको छ ।

सार्थक परिणामको अपेक्षा

प्राध्यापक पोखरेलले कांग्रेस महासमिति बैठकमा प्रस्तुत प्रस्तावलाई परिणाममुखी बनाउने गरी निर्णयमा पुग्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “दस्ताबेज कस्तो लेखियो भन्ने एउटा कुरा हो । तर त्यसको कार्यान्वयन चाहिँ देशको अर्थतन्त्रलाई सुधार गर्दै मुलुकलाई समुन्नतिको बाटोमा अघि बढाउने कार्ययोजनासहित परिणाम दिने गरी आउन सक्नु पर्छ ।”

उहाँले नीतिगत कुरा गर्दा संविधानले नै सबै कुरा तय गरेको बताउँदै समाजवाद उन्मुख संविधानको कार्यान्वयनको पक्षलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । उहाँले संविधानमा समेटिएको मौलिक हक, अर्थतन्त्रमा तीनखम्बे नीतिसहित संविधानले तय गरेका समानुपातिक, समावेशी र सङ्घीयतासहितका सवाललाई कार्यान्वयनमा खरो उत्रिने गरी निर्णयमा पुग्न सुझाव दिनुभयो । उहाँले तिनै विषय महासमिति बैठकमा छलफल गरेर सार्थक परिणाम दिनेगरी कार्यान्वयनमा जानुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधान निर्माणको नेतृत्व पनि नेपाली कांग्रेसले नै गरेको हो । संविधानमा उल्लेखित अर्थतन्त्रका कुरा, अरू विषय छन्, त्यसलाई कार्यान्वयन गर्ने ढङ्गको एक्सनमा कांग्रेस जानु पर्छ । यसो गरे देशले कोल्टे फेर्ने अवस्था आउँछ ।”

संविधान कार्यान्वयनको पक्षमा

कांग्रेस सहमहामन्त्री उपाध्यायले कांग्रेसले इतिहासको मूल्याङ्कन गर्दै समग्र रूपान्तरणको एजेन्डा अनुमोदन गर्ने बताउनुभयो । उहाँले परिवर्तनका हरेक आन्दोलनमा जनताको पक्षमा उभिएको र राष्ट्रियताको पक्षमा सङ्घर्ष गरेर संविधान निर्माणको नेतृत्व गरेकाले अब सार्थक कार्यान्वयनका पक्षमा निर्णय लिने प्रस्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “२०७२ मा संविधान निर्माण कांग्रेसकै नेतृत्वमा भयो । संविधान निर्माणको अपनत्व लिँदै नेपालको संविधानले दिएको अधिकारलाई सुनिश्चित गर्दै कार्यान्वयन गर्दै जाने योजनासहित प्रभावकारी कार्यान्वयन गरी नागरिकको अधिकारलाई सर्वोपरि मानेर पार्टीले महासमिति बैठकबाट आवश्यक निर्णय लिन्छ ।”

उहाँले संविधानमा व्यवस्था गरिएको समावेशी पद्धति, सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्‍याएको र त्यसलाई व्यवस्थित गर्ने पक्षलाई दृष्टिगत गरेर निर्णयमा पुग्ने बताउनुभयो । उहाँले भ्रष्टाचार बढ्यो, सुशासन भएन भन्ने जनताको गुनासोलाई सैद्धान्तिक र वैचारिक रूपमा स्पष्ट भएर कार्यान्वयन गर्ने बताउनुभयो ।

उहाँले संविधानलाई राजनीतिक रूपमा कार्यान्वयन लगेका पनि जनताले सुशासन र राज्यबाट प्राप्त हुने सेवाको विषय आम चासोमा ध्यान नपुगेका सम्पूर्ण विषय महासमिति बैठकले सम्बोधन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीको दृष्टिकोण स्पष्ट गर्छौं, संविधानले नागरिकलाई दिएको हरेक हकअधिकारलाई कार्यान्वयनमा लान प्रतिबद्ध छौँ । नीति अधिवेशनमा सुशासनलाई बढी फोकस गर्छौं । सामाजिक सुरक्षा, रोजगार, विभेद र असमानता अन्त्य गर्ने, सामाजिक संरचनाका रूपान्तरण, स्वास्थ्य, शिक्षाका विषयमा कांग्रेसले अगुवाइ लिने गरी निर्णयमा पुग्छौँ ।”

सङ्क्रमण अन्त्य हुनु पर्छ

विश्लेषक वाग्लेले कांग्रेस अहिले नीति र नेतृत्व दुवै दृष्टिकोणमा सङ्क्रमणकालबाट गुज्रिरहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “त्यस कारण अहिले कांग्रेस पार्टीलाई सैद्धान्तिक, वैचारिक र साङ्गठानिक तीन वटै दृष्टिकोणले रूपान्तरण गर्नुपर्ने आवश्यकता छ । सैद्धान्तिक, वैचारिक र साङ्गठानिक तीन वटै दृष्टिकोणले रूपान्तरण गर्दा मात्रै भविष्यमा कांग्रेसको यात्रा सहज हुन्छ ।”

उहाँले नीति महाधिवेनको समेत कार्यादेश भएको महासमिति बैठकले कांग्रेसलाई समयसापेक्ष रूपान्तरण गर्ने कार्ययोजना प्रस्तुत गरेर कार्यान्वयनमा लानु अपरिहार्य रहेको बताउनुभयो ।गोरखापत्र दैनिकबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button