मूल खबर

वीरगञ्ज भन्सारमा आयात प्रतिबन्ध गरिएका २ अर्बभन्दा बढीका वस्तु लिलाम गरिँदै

काठमाडौं ।

वीरगञ्ज भन्सारस्थित सुख्खा बन्दरगाहमा अवैध किसिमले ल्याइएका २ अर्ब रुपियाँभन्दा बढीका वस्तुहरूको लिलाम प्रक्रिया थालिएको छ ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले वीरगञ्जको सुख्खा बन्दरगाहमा अवैध किसिमले ल्याइएका ठूलो परिमाणका वस्तुहरू बरामद गरी लिलाम प्रक्रिया थालिएको जानकारी दिनुभयो।

भन्सार विभागका महानिर्देशक पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘२ अर्बभन्दा बढीका सामानहरू बरामद गरेका छौं, ती सबै सामानहरू लिलाम हुनेछन्।’

भन्सार विभागका अनुसार सुपारी ३ सय ५० मेट्रिक टन बरामद गरिएको छ भने १ सय ५० मेट्रिक टन पोस्ता दाना बरामद गरिएको छ। यसै गरी छोकडा ५ सय मेट्रिक टन तथा अवैध रूपमा ल्याइएका स्कुटर र बिजुलीका सामान तथा मदिरासमेत बरामद गरिएको छ।

स्रोतका अनुसार केही व्यापारी र बिचौलियाले सेटिङ गरी ती सुपारी, पोस्तादाना, रक्सी, छोकडा र मरिचहरू ल्याएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा वीरगञ्जको सुख्खा बन्दरगाहमा अर्बौं मूल्यका अवैध सामानहरू आएको भन्दै छानबिन गर्न उजुरी परेपछि अख्तियारले आवश्यक छानबिन गर्न भन्सार विभागलाई निर्देशन दिएको थियो । अख्तियारको निर्देशनपछि भन्सार विभागले छानबिन गर्दा अर्बौं मूल्यका अवैध वस्तुहरू ल्याइएको फेला पारेको थियो ।

केही व्यापारी र बिचौलियाहरूले भन्सारका कर्मचारीलाई प्रभावमा पारि ती सामानहरू उम्काउन खोजे पनि अख्तिया दुरुपयोग अनुसन्धान आयोगको सतर्कताका कारण अवैध सामान उम्काउने प्रयास असफल भएको थियो ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयको यार्ड र गोदाममा विभिन्न पैठारीकर्ताले आयात प्रतिबन्ध रहेका र एउटा वस्तुलाई अर्कै भनी ल्याएर लुकाएका ती वस्तुहरू भन्सार विभागको छानबिन टोलीले फेला पारेको थियो।

भन्सार स्रोतका अनुसार सेटिङ कर्ताहरूले अर्बांै रुपियाँका ती सामानहरू कर्मचारीसँग सेटिङ मिलाएर बाहिर निकाल्ने प्रपञ्च गरे तापनि भन्सार विभागको कारबाहीपछि उनीहरूको सो प्रयास असफल भएको थियो । भन्सारमा रहेका तीनवटा च्यानलमध्ये रेड च्यानलबाट बाहिर ननिकाली ग्रीन तथा यल्लो च्यानलबाट ती सामानहरू बाहिर निकाल्ने प्रयास भइरहेको थियो।

वीरगञ्जबाहेक अन्य ठाउँका भन्सार कार्यालयमा समेत यसरी नै सेटिङका आधारमा अवैध वस्तुहरू आउने क्रम रहेकाले ती ठाउँका भन्सार कार्यालयमा समेत छानबिन हुनुपर्ने भन्दै अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको बताइएको छ।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button