कृषि र किसानमूल खबर

किसानको भुक्तानीका लागि डिडिसीलाई सहुलियत ऋण

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुध किसानलाई भुक्तानी दिलाउनका लागि दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी क्षेत्रका डेरी उद्योगीलाई सहुलियत ऋणका लागि सहजीकरण गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुध किसानलाई तत्कालै भुक्तानी दिलाउन निर्देशन दिएपछि कृषि मन्त्रालय त्यसका लागि पहल सुरु गरिसकेको छ। प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको भोलिपल्ट मङ्गलबार किसानले समयमा भुक्तानी नभएको भन्दै ललितपुरमा दुध पोखेर विरोध जनाएका छन् । कृषि मन्त्रालयले सहुलित ऋण अनुदानमा डिडिसीलाई ३० करोड रुपियाँ दिने भएको छ ।

कृषि मन्त्रालयका पशुपन्छी तर्फका सचिव डा. रेवतीरमण पौडेलले डिडिसीलाई दिइने ३० करोड रुपियाँ सहुलियतमा अनुदान ऋण उपलब्ध गराउने बताउनुभयो । त्यसका लागि अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति पनि दिइसकेको उहाँले बताउनुभयो । प्रक्रिया सुरु भएको छ, यो हप्ताभित्र डिडिसीले सो रकम पाउने बताउँदै उहाँले सो रकमबाट डिडिसीले किसानको बक्यौता रकम भुक्तानी गर्ने बताउनुभयो ।

निजी क्षेत्रका डेरी उद्योगीले पहल गरेका त्यसका लागि पनि मन्त्रालयले सहजीकरण गरिदिने उहाँले बताउनुभयो । त्यसका लागि निजी क्षेत्रले सबै प्रक्रिया पूरा गरेर निवेदन दिनुपर्ने उहाँले बताउनुभयो ।

यो महिनाभित्र जसरी पनि किसानको बक्यौता रकम भुक्तानी गराउन मन्त्रालयले पहल गर्ने उहाँले बताउनुभयो । डिडिसी तथा निजी क्षेत्रको गरी किसानलाई भुक्तानी गर्नुपर्ने पाँच अर्बभन्दा बढी रकम बाँकी रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । त्यसमध्ये सबभन्दा बढी रकम डिडिसीको बक्यौता रहेको बताइएको छ । डिडिसीका अनुसार ५० करोड रुपियाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको छ ।

दुधका किसानहरू मङ्गलबारदेखि आन्दोलन सुरु गरेका छन् । ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि किसानले दुध पोखेर भुक्तानीका लागि दबाब दिएका हुन् । भुक्तानी नपाएको तथा उत्पादित दुध बिक्रीसमेत नभएको भन्दै किसानले ८० लिटर दुध सडकमा पोखेर विरोध जनाएका हुन् ।

विरोध प्रदर्शनअघि किसानले प्रमुख जिल्ला अधिकारीलाई ११ बुँदे मागपत्र बुझाएका थिए । ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आबद्ध किसानले दुध तथा दुग्धजन्य पदार्थ बिक्रीवितरणमा सहज गर्नुपर्ने र किसानको दुधको भुक्तानी नियमित उपलब्ध गराउन माग गरेका छन् ।

जिल्लामा दैनिक एक लाख ५० हजार लिटर दुध उत्पादन हुँदै आएको छ । जसमध्ये ७० देखि ७५ हजार लिटर दुध बिक्री गर्ने गरिएको ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष कृष्णप्रसाद सापकोटाले नेपालमा दुग्ध क्षेत्रमा देखिएको समस्या समाधानमा केन्द्रीय सरकार तथा प्रदेश सरकार सकारात्मक नेदेखिएकाले सङ्घ र अन्य सङ्घ सङ्गठनहरूको ऐक्यबद्धता जनाउँदै आन्दोलन सुरु गरेको बताउनुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button