मूल खबर

ऋण तिर्दिनँ भन्ने प्रवृत्ति नियन्त्रण गरिने

काठमाडौँ । बैङ्कको ऋण लिएर तिर्दिनँ भन्ने प्रवृत्तिलाई सरकारले नियन्त्रण गर्ने भएको छ । नेपाल बैङ्कर्स सङ्घका पदाधिकारीसँगको बिहीबारको भेटका क्रममा नवनियुक्त अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्न अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने बताउनुभएको हो ।

जनताको निक्षेपबाट लिइएको बैङ्कको ऋण तिर्दिनँ र तिर्न हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने उहाँले उल्लेख गर्नुभएको हो । “बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्दिनँ भन्ने र तिर्न हुन्न भनेर अभियान चलाउनेलाई धेरै छुट दिन सकिँदैन,” उहाँले भन्नुभयो, “त्यस्तो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन ।” बिहीबारको मन्त्रीपरिषद् बैठकमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैङ्कको ऋण नर्तिन भड्काउँदै हिँड्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्न निर्देशन दिएको उहाँले सो क्रममा जानकारी गराउनुभएको थियो ।

निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबल गिर्न नदिने मन्त्री पुनले प्रतिबद्धता व्यक्त गर्नुभयो । मुलुकमा लगानीको वातावरण र लगानी सुरक्षाको सुनिश्चितता गर्न सकिए मात्र बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट रहेको पनि उहाँले बताउनुभयो । सरकारले लगानीको वातावरण बनाउने उल्लेख गर्दै उहाँले निजी क्षेत्र आत्तिने र डराउने वातावरणको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारले नागरिकको व्यक्तिगत, पारिवारिक सम्पत्तिको सुरक्षा दिने उहाँको प्रतिबद्धता थियो ।

भेटका क्रममा मन्त्री पुनले गल्ती नगर्ने निजी क्षेत्रका व्यवसायीलाई अनावश्यक दुःख नदिन नियामक निकायलाई आग्रह गर्नुभएको थियो । त्यस्तै उहाँले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन प्रभावित नहुने पनि स्पष्ट पार्नुभयो । भेटमा सङ्घका अध्यक्ष सुनील केसीले बैङ्किङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । ऋण उठाउन गएका बैङ्कका कर्मचारीमाथि अपमानजनक व्यवहार र भौतिक आक्रमणका घटना बढेकाले यसमा गम्भीर हुन उहाँले अर्थमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button