मूल खबरहेड लाइन

झापाको मेचीनगर १५ मा रहेको प्लाइउड उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन, भारतबाट वारुणयन्त्र आउँदै

धुलाबारी । झापाको मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स (प्लाइउड) उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। सोमबार बिहान करिब सवा ५ बजेदेखि आगलागी भएको हो। ६ घण्टादेखि आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए ।

आगो नियन्त्रणका लागि जिल्लाका आठवटा वारुणयन्त्र,नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीयबासी खटिएको एसपी केसीले बताए । ‘उद्योगका लागि भण्डारण गरी राखिएको गोलिया गोदामको मुख्य ब्लकमा आगो लागेको हो,’एसपी केसीले भने,‘त्यहाँ मजदुर नरहेकोले कुनै मानवीय क्षति हुन पाएन,तयारी प्लाइउडमा समेत कुनै क्षति पुगेको छैन ।’

आगो नियन्त्रणमा आएपछि मात्र क्षतिको यकिन विवरण आउने उनले बताए। आगो नियन्त्रणका लागि भारतको नक्सालबाडीबाट वारुणयन्त्र आउँदै गरेको प्रहरी प्रशासनले जानकारी दिएको छ ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला,प्रहरी कार्यालय झापाका एसपी मिलन केसी,सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी कवीन्द्र राईलगायतको टोली पुगेको थियो। सो उद्योगमा १४ सय मजदुर कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button