
अनिल क्षेत्री
काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षको लागि आज (मंगलबार) निर्वाचन हुँदै छ । राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका नारायण दाहाल र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट युवराज शर्माले मनोनयन दर्ता गर्नुभएको छ । दाहाल राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनका माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाका संयुक्त उम्मेदवार हुनुहुन्छ । सत्ता गठबन्धनबीच फागुन २१ मा भएको आठ बुँदे सहमतिमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख छ ।
राष्ट्रियसभा अध्यक्ष चयनको लागि आज बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभाको बैठक बोलाइएको छ । संघीय संसद् सचिवालयले राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुने आजको बैठकका लागि चारवटा सम्भावित कार्यसूची तय गरेको छ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुहुनेछ । यस्तै, गोपीबहादुर सार्की आछामीले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुहुनेछ । त्यसपछि सभाको अध्यक्षता गर्ने राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । निर्वाचन कार्यक्रमअनुसार सोमबार शर्मा र दाहालले अध्यक्ष पदमा आ-आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो ।हिमालय टाइम्समा खबर छ ।



