
डिबी शर्मा
काठमाडौं । नेकपा (एमाले)ले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि एमालेले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आइतबार बसेको पार्टीको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार चयन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सुहाङ एमाले नेता स्वर्गीय सुवास नेम्वाङका छोरा हुनुहुन्छ । नेम्वाङको भदौ २५ गते निधन भएको थियो । उहाँको निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख नेम्वाङका कान्छा छोरा सुहाङ बुबाकै निर्वाचन क्षेत्रबाट राजनीतिमा ‘डेब्यु’ गर्नुभएको छ । सुहाङ अधिवक्ता पनि हुनुहुन्छ । यसअघि फुटबल क्लब र आफ्नै वकालती फर्म चलाइसक्नु भएका सुहाङले बुवा सुवासको पदचाप पछ्याउँदै राजनीतिमा पाइला राख्नुभएको हो । ३५ वर्ष पनि नपुग्दै उहाँ बुबाले निरन्तर जितेको निर्वाचन क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
सुहाङमा बुवा सुवासजस्तै धेरै स्वभाव र रुचि मिल्छन् । शक्तिशाली बुबाको निर्वाचन क्षेत्रमा एमालेले ‘हेभिवेट’ नेताका रूपमा सुहाङलाई उठाएको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । ‘हाम्रो उम्मेदवार योग्य पनि हुनुहुन्छ । धेरै हिसाबले डिजर्भ गर्नुहुन्छ,’ ज्ञवालीले भन्नुभयो, ‘सहयोग गर्नुस् भन्ने हाम्रो अपिल हुन्छ ।’
यसअघि इलाम जिल्ला कमिटी र प्रदेश कमिटीले इलाम-२ का लागि सुहाङसँगै नेताहरू बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी क्षेत्री दुलाल र रिम्पल राईको नाम पनि सिफारिस गरेको थियो । तर, सुहाङले एमालेका सचिवालयका सबैको मन जित्न सफल हुनुभयो । सिफारिस भएका अरूलाई पाखा लगाउँदै सुहाङ उम्मेदवार बन्न सफल हुनुभएको हो ।
आगामी १५ वैशाखमा उपनिर्वाचन हुँदै छ । प्रतिनिधिसभा र प्रदेश सभाका एक-एक क्षेत्रमा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो । प्रतिनिधि सभाको इलाम-२ र प्रदेश सभाको बझाङ प्रदेश-१ मा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनलाई राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रतिष्ठाको विषय बनाएका छन् । फेरिएको सत्ता समीकरण, नयाँ राजनीतिक दल, पहिचानवादी मुद्दा र स्वतन्त्र उम्मेदवारको चर्चाले इलामको चुनाव रोचक हुने देखिएको छ ।आजको हिमालय टाइम्समा खबर छ ।



