हेड लाइन

१७ जिल्लामा पाठ्यपुस्तक बिक्री

२७ गतेसम्म देशैभर पुगिसक्ने

ईश्वरराज ढकाल
काठमाडौं ।

आगामी शैक्षिक सत्रका लागि हिजो मंगलबारबाट पाठ्यपुस्तक बिक्री शुरू भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ७ प्रादेशिकसहित ९वटा बिक्री केन्द्रमार्फत् १३ गतेबाट पाठ्यपुस्तक बिक्री शुरू गरेको छ।

मंगलबार ताप्लेजुङ, ओखलढुंगा, सोलुखुम्बु, तनहुँ, मनाङ, प्युठान, रोल्पा, हुम्ला, अछाम र बाजुरामा पाठ्यपुस्तक बिक्री शुरू गरेको थियो। आज बुधबार संखुवासभा, खोटाङ, रसुवा, रौतहट, मुस्ताङ, डोल्पा, बाजुरा र दार्चुलामा बिक्री शुरू हुनेछ।

यसअघि शिक्षा मन्त्रालयले चैत १५ बाट पाठ्यपुस्तक बिक्री खुला गर्ने जनाएको थियो। मन्त्री सुमना श्रेष्ठले हिमाली र कर्णाली जिल्लामा तत्काल पुस्तक पुर्‍याउन निर्देशन दिएपछि हिजैबाट बिक्री शुरू गरेको जनक शिक्षाले जनाएको छ।

केन्द्रले कार्यतालिकासहित चैत २७ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक पु¥याउने भएको छ। केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले चैत महिनाभर सबै जिल्लामा पाठ्यपुस्तक पुगिसक्ने जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘मंगलबारबाट धमाधम बिक्री शुरू भएको छ, चैत महिनाभित्र आगामी शैक्षिक सत्रको पाठ्यपुस्तक सबै विद्यार्थीको हातहातमा पुग्नेछ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आगामी शैक्षिक सत्र अर्थात् २०८१ साल वैशाख २ गतेअगावै पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएलगत्तै जनक शिक्षाले पाठ्यपुस्तक बिक्री शुरू गरेको हो ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले चौबिसै घण्टा मेसिन सञ्चालन गरी दैनिक १ लाख ५० हजार थान पाठ्यपुस्तक छपाइ भइरहेको छ बताउनुभएको छ। केन्द्रको तथ्याङ्कअनुसार १ करोड ७४ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्छ।

अब ६ लाख थान छपाइ भएपछि लक्ष्यअनुसार सबै छापिसकिनेछ।’ जनक शिक्षाले चैत २६ र २७ गते सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री गर्नेछ।

जनक शिक्षाका अनुसार मोरङ, सर्लाही, काठमाडौं, चितवन, कास्की, रूपन्देही, बाँके, बर्दिया, सुर्खेत र कैलालीमा चैत २४ देखि २७ सम्म पाठ्यपुस्तक बिक्री गर्नेछ । जनकले हिजोबाट निरन्तर पाठ्यपुस्तक बिक्री गरी वैशाख १ गतेभित्र देशैभर पुर्‍याउने योजना बनाएको छ।

तथ्याङ्कअनुसार कक्षा १–१० अध्ययनरत करिब ५० लाख विद्यार्थीका लागि पाठ्यपुस्तक बिक्री हुनेछ । ती विद्यार्थीका लागि झन्डै १ करोड ७४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ । जनक शिक्षाले नेपालगञ्ज, धनगढी, पोखरा, भरतपुर, सुर्खेत, विराटनगर, जनकपुर, बुटबल र सानोठिमीस्थित मुख्यालयको बिक्री केन्द्रबाट पाठ्यपुस्तक बिक्री गर्न लागेको हो ।

तथ्याङ्कअनुसार कक्षा ३ को ४ लाख २० हजार, ४ को १ लाख ७७ हजार ३ सय ५, ५ को १२ लाख ६३ हजार, ६ को २८ लाख ५७ हजार ७ सय ६०, ७ को २६ लाख ८२ हजार ८ सय ३६, ८ को २८ लाख ९१ हजार ५ सय ७५, ९ को ३२ लाख १४ हजार ६५ र १० कक्षाको ३२ लाख ७६ हजार ३ सय १० थान पाठ्यपुस्तक छपाइ भइसकेको छ।

कक्षा ५ को ५ लाख थान पाठ्यपुस्तक छाप्न बाँकी रहेको प्रबन्ध सञ्चालक झाले जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म १ करोड ६७ लाख ८२ हजार ८ सय ५० थान पाठ्यपुस्तक छपाइ भइसकेको छ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पुग्ने बताउनुभयो। उहाँका अनुसार केन्द्रलै दैनिकजसो अनुगमन जारी राखेको छ, जनक शिक्षाले दैनिक बुझाएको तथ्याङ्कअनुसार पाठ्यपुस्तक पुग्ने अवस्था देखिएको छ। शैक्षिक सत्र शुरू हुनासाथ सबै बालबालिकाको हात हातमा पुस्तक पुगिसक्ने महानिर्देशक शर्माको भनाइ छ ।

शिक्षा मन्त्रालयले यस वर्षको पुस्तक छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रलाई दिएको छ। पाठ्यक्रम विकास केन्द्रले समयमै पीआरसी (प्रिन्ट रेडी कपी) उपलब्ध गराएका कारण छपाइमा कुनै समस्या नभएको जनक शिक्षाको भनाइ छ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले समयमै पाठ्यपुस्तक पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘असोजबाटै पीआरसी कपी पुर्‍याएका कारण समयमै पाठ्यपुस्तक पुग्ने देखिन्छ।’ उहाँले पुस्तक पुगे नपुगेको विषयमा आन्तरिक रूपमा अनुगमन गर्ने बताउनुभयो।

केन्द्रले कात्तिकमै पुस्तक छपाइबारे छिटो निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्राचार गरेको थियो। सोही आधारमा मन्त्रालयले निर्णय गरेपछि छपाइ शुरू भएको थियो।नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button