मूल खबर

सोह्र प्रतिशतले घट्यो खाद्यान्न आयात

काठमाडौँ। मुलुकमा खाद्यान्न आयात १६ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) मा खाद्यान्न (चामल, धान, मकै गहुँ, जौ, कोदो) आयात १६ प्रतिशतले घटेर ३२ अर्ब २९ करोड ९६ लाख रुपियाँ बराबरको आयात भएको छ । गत वर्ष सो अवधिमा ३८ अर्ब ८३ करोड ८५ लाख ७५ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । गत वर्षको तुलनामा छ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात कम हो । मुलुकमा अधिकांश वस्तुको आयात घटिरहेका बेला खाद्यान्नको आयातमा समेत कमी आएको हो । गत वर्षको तुलनामा चामल, धान र मकैको आयातमा कमी आएको छ । आन्तरिक उत्पादन वृद्धिसँगै बजारमा खाद्यान्नको माग कम हुँदा आयातमा समेत कमी आएको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार आठ महिनामा छ अर्ब ३९ करोड ६२ लाख १३ हजार रुपियाँ बराबरको चामल आयात भएको छ । गत वर्ष सो अवधिमा ११ अर्ब ७६ करोड ३८ लाख ३५ हजार रुपियाँको आयात भएको थियो । भारतले गत भदौ महिनादेखि बासमती चामलको निर्यातमा भन्सार महसुल बढाएका कारण चामल आयातमा कमी आएको हो ।

यस्तै आठ महिनामा आठ अर्ब ६४ करोड ८८ लाख ८९ हजार रुपियाँ बराबरको धान आयात भएको छ । गत वर्ष सो अवधिमा १४ अर्ब ३० करोड ३१ लाख २६ हजार रुपियाँको धान आयात भएको थियो ।

यस्तै आठ महिनामा नौ अर्ब २७ करोड ५५ लाख चार हजार रुपियाँ बराबरको मकै आयात भएको विभागको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा ११ अर्ब ३९ करोड नौ लाख २१ हजार रुपियाँको मकै आयात भएको थियो । मकै पोल्टी फार्ममा कुखुराको आहारका लागि बढी प्रयोग हुने गर्छ ।

यस्तै आठ महिनामा दुई अर्ब ६७ करोड ९६ लाख ८४ हजार रुपियाँ बराबरको गहुँ आयात भएको छ । यस्तै १७ करोड २८ लाख पाँच हजार रुपियाँ बराबरको जौ, ५७ करोड ५२ लाख ८७ हजार रुपियाँ बराबरको कोदो आयात भएको छ ।

भारतमा धान उत्पादनमा कमी आएको र आन्तरिक माग धान्न नसक्ने अवस्था आएपछि निर्यातमा प्रतिबन्ध लगाइएको थियो । खुुला सिमानाका कारण चोरी तस्करीबाट समेत चामल भित्रिने गरेको व्यवसायीको भनाइ छ । उद्योगीले धान आयात गरेर चामल कुटाएर बजारमा बिक्री गर्ने गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार चालु आवमा ५७ लाख २४ हजार २३४ टन धान उत्पादन भएको छ । गत वर्ष ५४ लाख ८६ हजार ४७२ टन उत्पादन भएको थियो । गत वर्षभन्दा यो वर्ष दुई लाख ३७ हजार टन मात्र धान बढी फलेको देखिन्छ । छिमेकी मुलुक भारत, थाइल्यान्ड, अस्टे«ेलिया, हङकङ, इटाली, कोरिया, क्यानडा, जर्मनीलगायतका मुलुकबाट खाद्यान्न आयात हुने गरेको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button