खबर

चियाको पहिलो टिपाइ सुरु

इलाम। चिया उत्पादनको मुख्य क्षेत्र रहेको इलाममा ‘फस्र्ट फ्लस’ अर्थात् चियाको पहिलो टिपाइको काम सुरु भएको छ । वर्षभरिको उत्पादनमध्ये गुणस्तरीय मानिने पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीले विशेष महत्वका साथ लिने गर्छन् ।

चिया टिपाइ सुरु भएसँगै सूर्योदय नगरपालिकास्थित सुन्दरपानीको गोर्खा टी स्टेटले केही दिनअघिदेखि तयारी चिया बनाउन थालेको छ । जिल्लाका अन्य केही कारखानाहरूले पनि आइतबारदेखि चिया प्रशोधन सुरु गरेको जनाएका छन् । तातो र जिल्लाको दक्षिणी भेगमा रहेका चिया बगानहरूमा टिपाइ सुरु भएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईले बताउनुभयो । उहाँका अनुसार जिल्लाको माथिल्लो भेगमा रहेका बगानमा भने करिब एक सातापछि मात्रै चिया टिपाइ सुरु हुने छ । “माइपोखरी, साँखेजुङलगायतका क्षेत्रमा चिया पालाउन थालेको भए पनि टिप्न एक/दुई दिनपछि मात्र सुरु हुन्छ,” उहाँले भन्नुभयो, “गत वर्षभन्दा यो वर्ष पहिलो टिपाइ अलि ढिलो भएको छ ।” विगत वर्षमा फागुन अन्तिमदेखि चैत १५ गतेभित्रमा चियाको पहिलो टिपाइ सुरु हुने गरेको थियो ।

उता जसबिरे टी प्रोसेसिङले पनि केही दिनमा चिया टिपाइ र प्रशोधन सुरु हुने जनाएको छ । यो कारखानाले किसानलाई भेला गरेर पहिलो टिपाइपूर्व किसानलाई टिपाइमा अपनाउनुपर्ने सतर्कता र त्यसबाट उत्पादन हुने गुणस्तरको चियाको विषयमा सचेत पनि गराएको छ । “चिया टिपाइदेखिनै गुणस्तर कायम हुने हुँदा टिपाइअघि किसानलाई सचेत गराउनु उचित हुने रहेछ,” कम्पनीका सञ्चालक शरद सुब्बाले भन्नुभयो, “एक सुइरो मात्र कसरी टिप्ने, दुई पात एक सुइरो कसरी टिप्ने, त्यसको वास्ना, स्वाद कस्तो हुने, राम्रो र गुणस्तरीय चियाको मूल्य कस्तो हुने भन्ने विषयमा किसानलाई जानकारी गराएका छौँ । विगतमा भन्दा यो वर्षको चियाको गुणस्तरमा निकै फरक पर्छ भन्ने लागेको छ ।”

यस वर्ष हिउँदमा आकासे वर्षा नहुँदा त्यसको असर चिया उत्पादनमा परेको स्थानीयको भनाइ छ । प्रायः फागुन अन्तिम सातादेखि चैतको पहिलो सातासम्ममा चियाको पहिलो टिपाइ सुरु हुने गरेको थियो । मौसम सुक्खा भएको र पहाडी क्षेत्रमा सिँचाइको वैकल्पिक व्यवस्था नभएकाले त्यसको असर चिया किसानलाई परेको सुब्बाले बताउनुभयो ।

सूर्योदय नगरपालिकास्थित ओएसिस चिया कारखानाले पनि हरियो चिया प्रशोधन सुरु गरेको जनाएको छ । व्यवसायीले तयारी गरेको पहिलो टिपाइको चिया विशेष गरी तेस्रो मुलुक निर्यात हुने गरेको बताउँछन् । इलाममा गोल्डन, गोल्डन पल, सिल्भर, गोल्डन ब्ल्याक, ग्रिनलगायतका फरक फरक नाम र स्वादका चिया उत्पादन हुने गरेको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button