मूल खबर

सडक सञ्जाल जोडिएपछि ढुवानी सहज

हुम्ला। हिमाली जिल्ला हुम्लाका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी कार्य सहज बन्दै गएको छ। दक्षिणी हुम्लाको सर्केगाड गाउँपालिका–६, खानीखेतसम्म राष्ट्रिय सडक सञ्जाल जोडिएका कारण ढुवानी सहज भएको हो ।

लिमिटेडको हुम्ला शाखाका निमित्त प्रमुख नवीन आचार्यले पहिलो पटक जिल्लाका लागि निर्धारित कोटाको खाद्यान्न समयमै ढुवानी भएको बाउनुभयो । यसको मुख्य श्रेय दक्षिणी हुम्ला सडक सञ्जालसँग जोडिएकोलाई जान्छ ।

यसै आर्थिक वर्षभित्र ढुवानी गर्ने गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन हजार क्विन्टल खाद्यान्न थप गरेको छ । जिल्लामा खाद्यान्न समस्या हुन नदिन समयमै थपिएको कोटाको खाद्यान्न ढुवानी गर्ने कार्यसमेत लिमिटेडले सुरु गरेको हो ।

लिमिटेड हुम्ला शाखाका निमित्त प्रमुख नवीन आचार्यले पैदल मार्गबाट ढुवानी गर्ने गरी तीन हजार क्विन्टल खाद्यान्न लिमिटेड केन्द्रले थपेको बताउनुभयो । सो खाद्यान्न राजापुर, सुर्खेत र नेपालगन्जबाट ढुवानी गरिने छ ।

यसअघि धनगढीसहित चार स्थानबाट चार हजार क्विन्टल खाद्यान्न कोटा निर्धारण गरेकामा सो खाद्यान्न हालसम्म तीन हजार ७४५ क्विन्टल खाद्यान्न ढुवानी भइसकेको र अब बाँकी २५५ क्विन्टल मात्र बाँकी रहेको छ । अघिल्लो वर्षसम्म पैदल मार्गबाट आधा मात्र ढुवानी हुन्थ्यो तर अहिले सडक सञ्जाल जोडिएपछि सजिलो भएको छ ।

लिमिटेडको शाखाको गोदाममा हालसम्म पैदल र हवाईमार्गबाट ढुवानी भएर आएको खाद्यान्नमध्ये पाँच हजार ५०४.४८ क्विन्टल मौज्दात रहेका छन् । यसअघि चैतसम्म यति धेरै खाद्यान्न मौज्दात हुँदैनथ्यो । निमित्त प्रमुख आचार्यले चैतसम्म खाद्यान्न बिक्री गर्ने कार्य सम्पन्न भएको बताउनुभयो ।

जिल्लाका लागि हवाई मार्गबाट निर्धारित कोटाको खाद्यान्न ढुवानी कार्य अन्तिम चरणमा रहेको छ । यस वर्ष हवाई मार्गमार्फत नेपालगन्जबाट चार हजार र सुर्खेतबाट छ हजार क्विन्टल खाद्यान्न कोटा थियो । हवाईमार्गको सबै खाद्यान्नमध्ये एक हजार एक सय क्विन्टल ढुवानी हुन बाँकी छ ।

काठमाडौँबाट रसुवा हुँदै केरुङ नाकाबाट चीनको तिब्बती मार्ग भएर आउने चार हजार क्विन्टल खाद्यान्न बाँकी रहेको छ । यो खाद्यान्न ढुवानीका लागि सप्लायर्स छनोट भइसकेको र ढुवानी गर्नका लागि प्रक्रिया अगाडि बढाइएको छ । आगामी जेठसम्म सो खाद्यान्न ढुवानी भइसक्ने लिमिटेडको शाखाले जनाएको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button