मूल खबर

वन्यजन्तुको ‘काल’ बन्दै विद्युतीय धराप

सर्लाही। सर्लाहीका किसानले बालीनालीको सुरक्षाका लागि आफ्नो खेतबारीमा थापेको विद्युतीय धराप (करेन्ट) मा परेर वन्यजन्तु मर्ने क्रम अझै रोकिन सकेको छैन ।

बर्सेनिको डढेलो र वन क्षेत्र विनाश भएर सुरक्षित बासस्थान तथा आहारको खोजीमा वन्यजन्तु किसानको खेतबारीमा पसिरहेका छन् । किसानले लगाएको तरकारी, मकै, उखुलगायतका बालीमा पुग्ने वन्यजन्तु विद्युतीय धरापमा परेर मर्ने क्रम बढेको छ ।

जिल्लाको दक्षिणी भेगका किसानले आफ्नो खेतमा वन्यजन्तु प्रवेश गर्न नपाओस् भनी पूरै खेत नै घेरेर विद्युतीय धराप राख्ने गरेका छन् । वन क्षेत्रमा डढेलो लाग्न थालेपछि बँदेल, हरिण, नीलगाई, स्याल जस्ता वन्यजन्तु दक्षिणी भेगतिरै बढी मात्रामा जाने गरेका छन् ।

आकासे वर्षाको भरमा खेती हुने उत्तरी चुरे भेगमा हिउँदयामभर खेतबारी बाँझै रहने भएकाले प्रायः वन्यजन्तु बालीनाली भइरहने दक्षिणी भेगका किसानको खेतबारीमा पुग्ने गरेका छन् । सिँचाइको सुविधा रहेको दक्षिणी भेगमा मकै, उखुलगायत घारी हुने खालको बालीनाली लगाइन्छ ।

वनमा डढेलो र बढ्दो विनाशका कारण यहाँको दक्षिणी भेगस्थित भारतीय सीमावर्ती क्षेत्रमा पर्ने विष्णु, गोडैता, कौडेना, बलरा, रामनगर, धनकौलसहितका पालिकामा बाक्लै मात्रामा वन्यजन्तु आउन थालेको स्थानीय किसान एवं धनकौल गाउँपालिकास्थित महिनाथपुर गाउँका अगुवा शिवेन्द्र ठाकुरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अचेत बाक्लै मात्रामा वन्यजन्तु खेतमा देखापर्ने गरेका छन् । त्यसरी आउने वन्यजन्तु विद्युतीय धरापमा परेर प्रत्येक दिन जसो वन्यजन्तु मर्ने पनि गरेका छन् । डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मञ्जुर अहमद वन्यजन्तुबाट बाली जोगाउने बहानामा यसरी विद्युतीय धराप थाप्नु अवैध हुने बताउनुहुन्छ । कारबाही हुने डरले वन्यजन्तु विद्युतीय धरापमा परेर मरे पनि वन कार्यालयसम्म जानकारी नै नआउने गरेको डिभिजन वन प्रमुख अहमदको भनाइ छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button