
काठमाडौँ । नेपालका ३० वटा हिमाल आरोहणका लागि जारी सिजनमा ९११ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा ८० देशका नागरिक छन् । विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार यस याममा हुने हिमाल आरोहणका लागि गत चैत १४ गतेदखि अनुमति दिन सुरु गरेयता ९११ ले अनुमति लिएका हुन्।
उहाँले भन्नुभयो, “अहिले विभिन्न हिमालमा जारी आरोहणका लागि अनुमति दिने क्रम करिब–करिब सकिएको छ । मे २९ तारिखसम्म सगरमाथाको अन्तिम आरोहण हुने मिति नजिकिएसँगै अब अनुमतिको प्रक्रियामा आउने आरोही घटेका छन् ।”
आरोहणका लागि उपयुक्त सिजन मानिने वसन्तयाममा ३० वटा हिमालमध्ये सगरमाथा, ल्होत्से, अमादब्लम र मकालुमा सबैभन्दा बढी अनुमति लिएको उहाँले जानकारी दिनुभयो । यस पटक आरोहण अनुमति लिनेमा सबैभन्दा बढी सगरमाथामा ४३ समूहका ३४३ पुरुष र ७८ महिला गरी ४१९, दोस्रोमा ल्होत्से आरोहणका लागि १४ समूहका १२३ पुरुष र २७ महिला गरी १५०, तेस्रोमा अमादब्लमका लागि १० समूहका ८० पुरुष र १९ महिला गरी ९९ र चौथोमा मकालु आरोहण गर्न सात समूहका ४३ पुरुष र २१ महिलासहित ६४ जनाले अनुमति लिएका छन् ।
आरोहण अनुमतिबाट विभागले ६८ करोड ५० लाख ७९ हजार २८१ रुपियाँ राजस्व सङ्कलन गरेको उहाँको भनाइ छ ।
यस वर्ष सगरमाथा आरोहण गर्न ६२ देशका आरोहीले अनुमति लिएका छन् । सगरमाथा आरोहण गर्न सबैभन्दा बढी अमेरिकाबाट ६१, चीनबाट ६७, बेलायतबाट ३५, भारतबाट २६, रसियाबाट २२ र जापानबाट २० जनाले अनुमति लिएका छन् । सगरमाथा आधार शिविरमा रहेको पर्वतारोहण अनुगमन फिल्ड कार्यालयका अनुसार यतिबेला स्वदेशी तथा विदेशी आरोही, पर्यटक, पथप्रदर्शक, भरिया र भान्सेले आधार शिविरमा बाक्लो चहलपहल छ ।गोरखापत्र अनलाइन



