
कविराज घिमिरे
हिले । धनकुटाको चौबिसे गाउँपालिका–४, फलामेटारका ६० वर्षीय गणेश बस्नेतको केही दिनयताको दैनिकी तमोर कोरिडोर आसपास नै बित्ने गरेको छ । उहाँ घरको बित्दो कामसमेत थाँती राखेर निर्माणाधीन कोरिडोरमा आउनुहुन्छ र बेलुकीपख मात्र उहाँ घर फर्कनुहुन्छ।
यसरी दैनिक घरको काम छाडेर कोरिडोरमा गफिएर दिन बिताउँदा पनि उहाँलाई कुनै ग्लानि छैन, बरु खुसी थपिएको छ ।
७८ वर्षीय स्थानीय लोकेन्द्र भण्डारी पनि दैनिक सडक आसपासमै भेटिनुहुन्छ । सडक कालोपत्रे हुँदा अत्यधिक खुसी भएको उहाँ बताउनुहुन्छ । उहाँहरूलाई त्यो खुसी दिएको हो तमोर कोरिडोरमा कालोपत्रे कार्यले । कालोपत्रे सुरु भएदेखि बस्नेतसहित स्थानीय धेरै व्यक्तिको दैनिकी कोरिडोर आसपासमा नै बित्ने गरेको छ । बर्खा लागेसँगै कामको चाप बढे पनि सबै काम थाँती राखेर स्थानीयवासी सडक आसपास नै आउने गरेका छन् ।
स्थानीयवासी सो स्थानमा भेला हुनुको कारण रमित हेर्नु मात्र नभई सडक कालोपत्रे हुन थालेकोमा खुसियाली साटासाट गर्नु तथा गुणस्तरीय कार्यको लागि खबरदारी गर्नु हो । “सडक नै कहिल्यै आउँदैन होला भनेको ठाउँमा अहिले सडक पक्की हुन थाल्यो, एकदमै उत्साहित छौँ । साथै सडक गुणस्तरीय बनाउन खबरदारी पनि गर्नु छ, त्यसैले दिनभर सडक आसपास रहन्छौँ,” बस्नेत भन्नुहुन्छ । “स्थानीयले खबरदारी गरेनन् भने काम गुणस्तरीय हुँदैन रे, त्यसैले हामी दिनभर खबरदारी गर्दै रमाउँदै यतै दिन बिताउँछौँ,” उहाँ थप्नुहुन्छ।
गाउँमा सडक सुविधा नहुँदा धेरैले गाउँ छाडे पनि आफूहरू गाउँ नै रुँघेर बसेको अहिले सडक कालोपत्रे हुन थालेपछि मनै दङ्ग भएको भण्डारी बताउनुहुन्छ ।
आयोजना अन्तर्गत निर्माणाधीन धनकुटाको फलामेटार–कुशेटार सडकखण्डको कालोपत्रेको काम सुरु भएको छ । निर्माण कम्पनी रौताहा क्षमादेवी जेभीले तमोर कोरिडोरको ११२ किलोमिटरमध्ये ६६ किलोमिटर कालोपत्रेको जिम्मा पाएको छ । जसमा पहिलो चरणमा फलामेटार–सदामटार हुँदै मुर्कुटे–कुशेटारसम्मको करिब पाँच किलोमिटर सडक कालोपत्र गरिने तमोर कोरिडोर आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी जयराम अधिकारीले बताउनुभयो । उहाँले आगामी एक वर्षभित्र रौताह क्षमादेवी जेभीले जिम्मा पाएको सम्पूर्ण काम पूरा गर्ने बताउनुभयो ।
पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर कोरिडोर सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको १५५ किलोमिटरमध्ये ११२ किलोमिटर सडक कालोपत्रेका लागि २०७९ कात्तिकमा चार अर्ब १६ करोड रुपियाँमा ठेक्का लागेको थियो । कोरिडोरको मूलघाटदेखि नावाखोलासम्मको २८ किलोमिटर कालोपत्रेको चरणमा रहेको छ । तमोर कोरिडोरको ६६ किलोमिटर सडकको काम तीन वर्षमा पूरा गर्नुपर्ने छ ।
मूलघाटदेखि हाङसुवासम्म ६६ किलोमिटर रौताहा क्षमादेवी जेभीले दुई अर्ब ४० करोड र बाँकी रहेको सडकखण्ड एफएक्स कम्पनीले एक अर्ब २४ करोडमा ठेक्का सम्झौता गरी काम अगाडि बढाइरहेका छन् । यस सडकले पूर्वी पहाडी जिल्ला हुँदै सङ्घीय राजधानी काठमाडौँका साथै भारत र चीनसम्म छोटो दूरीले सिधा सम्पर्क जोड्छ । भारतको जोगबनीबाट तमोर नदीको किनार हुँदै चीनको तिब्बतलाई जोड्न २०६५ सालमा संसद् विकास कोषको १० लाख रुपियाँ बजेट विनियोजन गरेर तत्कालीन संविधान सभा सदस्य हेमराज भण्डारीले आयोजना सुरु गर्नुभएको थियो ।
त्यसपछि धनकुटाको मूलघाटदेखि सुभाङसम्म २०६६ सालमा ट्र्याक खोल्न छ अर्ब १५ करोड १४ लाखमा ठेक्का सम्झौता भई काम सुरु भएको थियो । हाल ४४ किलोमिटर सडकमा नाली निर्माणको कार्य सकिएको र तोकिएको समयभित्र फिदिमसम्म कालोपत्रे कार्य सक्ने आयोजनाले जनाएको छ ।
आफूले सुरुवात गरेको सडक राष्ट्रिय गौरवको आयोजनामा पनि अहिले कालोपत्रे सुरु हुँदा अत्यधिक खुसी लागेको संविधान सभा सदस्य हेमराज भण्डारीले बताउनुभयो । यसले धनकुटालाई मात्र नभई पूर्वी पहाडलाई लाभ पुग्ने भण्डारीको भनाइ छ ।
गोरखापत्र अनलाइन



