खबरहेड लाइन

६३५ निजामती कर्मचारीले किन छोडे जागिर ?

१८१२ निजामती कर्मचारी सेवाबाट बाहिरिए, थप २५ सय बाहिरिँदै

सागर पण्डित
–किन जागिर छोडे भन्नेमा छैन अनुसन्धान
–सीपीए नै बेखबर
–निजामती सेवाको खराब प्रवृत्तिका कारण इमानदारहरू दिक्क

काठमाडौं ।

विभिन्न आरोह अवरोह पार गर्दै र प्रतिस्पर्धामा अब्बल ठहरिएर निजामती सेवामा प्रवेश गरेकाहरूले अवधि नपुग्दै जागिर छोड्ने गरेका छन्। चालू आर्थिक वर्ष २०७९\८० को ११ महिनाको अवधिमा मात्रै ६ सय ३५ जना कर्मचारीले जागिर छोडेको पाइएको छ । उनीहरूले के कारणले जागिर छोडे भन्नेबारेमा सरकारले कुनै खोज अनुसन्धान गरेको छैन ।

भविष्य सुन्दर बनाउने लक्ष्य लिएर निजामती क्षेत्रमा प्रवेश गरेकाहरूले पूरै अवधि जागिर नखाँदै किन बीचैमा छोडे भन्नेबारेमा सरकारी निकाय अनविज्ञ छ । निजामती सेवामा प्रवेश गर्नेहरूले सचिवको ५ वर्षे कार्यकाल र मुख्य सचिवको ३ वर्षे कार्यकालबाहेकको अवस्थामा ५८ वर्षसम्म जागिर खान पाउँछन् । गत ११ महिनामा जागिर अवधि सकिएर अवकाशमा गएका कर्मचारीको संख्या भने १८ सय १२ रहेको छ ।

तर, जागिर प्रवेश गरेको छोटो समयमा नै राजीनामा दिएर निस्कने कर्मचारीको संख्या पनि बढ्दो रहेको बताइएको छ । केन्द्रीय कर्मचारी निकाय (सीपीए) को रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई यस विषयमा कुनै मतलव रहेको देखिँदैन । कर्मचारीको मनोवैज्ञानिक अवस्थालाई बुझ्ने कोसिस मन्त्रालयले गर्न नसकेको आरोप छ ।

सरकार र उच्च तहले कर्मचारीको सेवा सुविधा र वृृत्ति विकासमा कुनै ध्यान नदिँदा तथा निजामती सेवा व्यवस्थित प्रणालीमा सञ्चालन हुन नसक्दा कतिपय इमानदार कर्मचारीहरू निजामती सेवाप्रति वाक्कदिक्क अवस्थामा छन् । इमानदारहरू पलायन हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै निजामती सेवाको आलोचनासमेत हुँदै आएको छ । स्रोतका अनुसार जागिर अवधि नसकिँदै राजीनामा गर्नेमा केही संख्यामा इमानदार कर्मचारीहरूसमेत रहेको बताइएको छ ।

राष्ट्रिय किताबखानाका अनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्म निजामती सेवामा रहेका ६ सय ३५ जना कर्मचारीले राजीनामा दिएर सेवा बाट बाहिरिएका हुन्। निजामती किताबखानाले पनि राजीनामा दिएका कर्मचारीले के कति कारणले राजीनामा दिएका हुन् भन्नेबारेमा कुनै सोधपुछ गर्ने र जानकारी लिने काम गर्न सकेको छैन। राष्ट्रिय किताबखानाका महानिर्देशक वैकुण्ठनिधि शर्माले जागिर अवधि नसकिँदै वर्षेनी केही संख्यामा कर्मचारीले राजीनामा दिने गरेको बताउनुभयो । महानिर्देशक शर्माले कर्मचारीको राजीनामाको कारण भने थाहा हुन नसकेको बताउनुभयो।

‘राजीनामा दिनेहरू सबैले घरायसी समस्या देखाएर राजीनामा दिने गर्नुभएको छ, तर वास्तविकता अर्कै पनि हुन सक्छ, यसको खोजी गर्न जरुरी छ’ किताबखानाका महानिर्देशक शर्माले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

किताबखानाका एक अधिकृतले भने तनाब व्यहोर्नुपर्ने र त्यसको समाधान खोज्न नसक्ने कर्मचारीहरूले राजीनामा दिने गरेको बताए । उनका अनुसार केही कर्मचारीहरूले विदेशको आवासीय अनुमति (पीआर) लिएकाले त्यस्ता कर्मचारीले राजीनामा दिने गरेका छन्। तर, पनि कोही भने निजामती सेवामा रहेको विकृतिका कारण वाक्कदिक्क भएर राजीनामा दिने गरेको हुन सक्ने पनि ती अधिकृतको भनाइ छ। ‘केहीले त सनकका आधारमा समेत राजीनामा दिने गरेको देखिन्छ’ –किताबखानाका ती अधिकृतले भने ।

किताबखानाका अनुसार समय नपुग्दै राजीनामा दिनेमा खरिदार, सुब्बा र अधिकृतस्तरका कर्मचारी बढी रहेका छन्। केही सचिवहरूले पेन्सन सुविधा बढी पाउने आशाले सेवानिवृत्त हुनुभन्दा केही दिनअघि राजीनामा दिने गरेका छन् । त्यस्ता कर्मचारीको संख्या भने अत्यन्तै न्यून रहेको छ।

किताबखानाका अनुसार निजामती सेवामा उमेरहदका कारण वर्षेनी २ हजारदेखि ३ हजार कर्मचारीहरू बाहिरिने गरेका छन्। गत आर्थिक वर्ष २०७९/८० मा ३१ सय ८३ कर्मचारी उमेरहदका कारण सेवानिवृत्त भएका थिए। चालू आर्थिक वर्षमा हालसम्म १८ सय १२ रहेको भए पनि आर्थिक वर्ष सकिँदासम्म सो संख्या २ हजार पुग्ने राष्ट्रिय किताबखानाले जनाएको छ। यसै गरी आगामी आर्थिक वर्षमा भने सेवानिवृत्त हुने क्रममा झन्डै २५ सय कर्मचारीहरू रहेको पनि किताबखानाले जनाएको छ।नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button