कला

अनौठो ‘आभास’ लिएर आइन् बबिना

काठमाडौ : जीवनमा कहिले कहि अनौठो आभास संलाग्ने अवसर मिल्छ । यस्तो अनौठो जो जीवनमा कहिल्यै अनुभूति गर्न पाइएको थिएन । त्यो आभास यति मीठो हुन्छ जुन शिशिर अर्थात उराठ, विरक्तिलो, दिक्क लाग्दो, नरमाइलो अनुभूति भइरहेको बेला एकाएक मधुमास अर्थात बसन्तबहार, ऋतुहरुका पनि राजा वसन्त ऋतुको आवगमन भए जस्तो, चारैतिर खुसी नै खुसी, हर्ष नै हर्ष, उमंग नै उमंग छाए जस्तो आभास मिल्ने गर्छ । यस्तो आभास त्यति बेला मात्र मिल्छ जव जीवनमा कोहि विशेष मान्छे भेटिन्छ त्यस्तो मान्छे जो संसार कै राम्रो लाग्छ, उसैलाई नै हेरिरहु, शिशिरको विहानीको न्यानो घामको पहिलो किरण उसैको शिरमा पारु पारु जस्तो, इन्द्रेणीका सातै रङ्ग उसकै मुस्कानमा सारु सारु जस्तो, उसै संग बोलिरहु जस्तो, उसै संग डुलिरहु, उसै संग भुलिरहु जस्तो । साच्चै उसको आवगमनले जीवनमा केहि खास भएको आभास मिल्ने गर्छ । उसको अघि आँफू नै फिका अनुभुति हुने गर्छ, संसारका सारा खुसी उसै भित्र देख्न अनि भेट्न मन लाग्छ, आँफूलाई मेटाएर उसैलाई दिउँ दिउँ जस्तो लाग्छ, यस्तो लाग्छ आफ्नो केहि छैन, आफ्नो केहि होइन, जे छ उसैको हो, जे छ उसैलाई दिउँ, सबै खुसी उसै भित्र भरु जस्तो ..ऊ खुसी भए आँफू त्यसै खुसी, उ रमाए आँफूलाई त्यसैमा रमाइलो ..आँफू भन्दा धेरै माथी उ हुन्छ, उसको सम्झना हुन्छ, उसको याद हुन्छ, उसको माया हुन्छ अनि उ प्रतिका समर्पण भाव हुन्छ, सबै कुरा अटाउँछ उ भित्र …जीवनमा उ भए अरु केहि चाहिन्न, ऊ नै खुसी हो, ऊ नै संसार हो अनि उ नै सर्वस्व हो, उसको सामु मन कपास जस्तो नरम भइदिन्छ ।

ढुकढुकीमा सधैभरि उसैलाई नै सुनौ सुनौ जस्तो
गोरेटोमा हिँड्ने यात्री उसैलाई नै चुनौ चुनौ जस्तो
यो कस्तो अनौठो आभास भयो
अचानक यो दिल किन बदमास भयो ।

मुटुको हरेक ढुकढुकीमा उसैलाई महशुस गरिन्छ, हर ढुकढुकीमा उसैको याद, मुटु देखि, मुुटु भरिको, मुटुको गहिराईबाट, मुटुको कुना कुनाबाट, मुटुको हर ढुकढुकीमा एकअर्का प्रतिका मायालु भाव उर्लिन्छ । सधै सधैं ऊ नै ढुकढुकीमा भएकोे, मुटुको हर ढुकढुकीमा उसैलाई महशुस गरिएको, मुटुको ढुकढुकी आफ्नो तर त्यो ढुकढुकीमा उसको आभास अनि त्यहि ढुकढुकीबाट पलाएको मायालुपनले आफ्नो मुटुलाई शितलता दिएको..आफ्नो ढुकढुकीले संगालेका अनगिन्ति मायालु भावहरु गीतमा पोखिएका छन् । जीवनको गोरेटो, उकाली, ओराली, भञ्ज्याङ, चौतारीहरुको सहयात्री उसैलाई चुन्न अव मन कत्ति हिचकिचाउदैन । लाग्छ उ भइदिए जीवनको तारेभिर ( साह्ै अग्लो र कहालीलाग्दो ठाडो भिर) पनि सहजै काट्न सकिन्छ, उसको साथ यस्तो उर्जा हो जुन उर्जाका अगाडि सबै समस्याहरु फिका लाग्छन्, उ संगको यात्रामा हर कठिन यात्राहरु सहज, सरल र रोमाञ्चक हुन्छ । उ भइदिए जीवन सरल हुन्छ, सुखद् हुन्छ, उल्लास र उमंगमय हुन्छ अनि साच्चै जीवन जीवन जस्तो हुन्छ । उसको साथले जीवनमा यस्तै यस्तै अनौठो आभास मिल्छ ।

गीतकार अनु विज्ञातीले लेखेकी प्रेमिल भावको गीत ‘आभास’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन सहित नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ । इमेज एफ.एम. ९७.९ को प्रस्तुति ‘न्यु एण्ड फ्रेस’ मा अडियो सार्वजानिक भए लगत्तै बबिना भट्टराईको अफिसियल युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक गरिएको उक्त गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्की र अनिल अधिकारीले रेकर्ड गरेका उक्त गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा बबिना आफै फिचर्ड छिन् । जस्केलो क्रियशनको तारतम्यमा प्रकृतिको सुन्दर स्थलमा छायाकंन गरिएको भिडियोमा यमुना पाण्डेको श्रृङ्गार कलाले सजिदै बबिनाले अनु बिज्ञातीका शब्दका भावहरु, संगीतको झंकार अनि आफ्नै स्वरको भाव भिडियोमा सर्लक्क उतारेकी छिन् ।

यति प्रेमिल गीत कहिले र कसरी लेखियो भन्ने सन्दर्भमा गीतकार अनु विज्ञाती भन्छिन् ‘करिव एक वर्ष अगाडि यात्राको क्रममा थिएँ अचानक एउटा दृश्यमा आँखा टक्क अडियो । त्यो दृश्य देखेपछि शान्त मन लहरीमा एउटा छाल यसरी उर्लियो जसरी वर्षात् पछि खहरे उर्लन्छ, भुकम्प पछि सुनामी उर्लन्छ । जीवनको अध्यायमा खहरे उमेर शान्त सागर बनेर बितेको रेकर्ड थियो तर सागर बन्ने उमेरमा एउटा रहरले हलचल ल्याइदियो । यहि हलचलले दिलाएको आभासलाई यी गीतका शब्दहरूमा उतार्ने प्रायस गरेकी छु । गीतमा आफ्नै गतिमा चलिरहेका पाइलाहरू अचानक कोहीसँग ठोक्किए पछि मनमा लहराएका प्रेमिल लहरहरुलाई प्रतिविम्वित गर्ने प्रयास गरेकी छु । गीतका हरेक स्टेन्जमा अचानक मनमा आएको प्रेमिल परिवर्तन,भावना,उतारचढाव र रहरहरुको उल्लेख गर्दै अन्त्यमा एकतर्फी प्रेम गर्ने दिललाई ’बदमास‘ भनेर सकिएको छ जसलाई चर्चित गायिका तथा संगीतकार बबिना भट्टराईले अत्यन्त न्याय गरेर संगीत भर्नु भएको छ अनि आफ्नो सुमधुर स्वरले सजाउनु भएको छ, त्यत्ति मात्र पनि होइन भिडियोमा समेत आफै समावेश भएर गीतका शब्दका भावलाई सर्लक्क उतार्नु भएको छ । वहाँको क्षमता प्रति म नतमस्तक भएकी छु । मेरो ‘आभास’ जस्ताको त्यस्तै आएको छ भिडियोमा । निक्कै शालीन र सुन्दर भिडियो बनेको छ जसको लागि बबिना भट्टराई मेरो तर्फबाट धन्यवादको पात्र हुनुहुन्छ । म वहाँको फ्यान त थिएँ नै यो गीतमा वहाँ संगको सहकार्यले म वहाँ प्रति अझ आभारी भएकी छु, वहाँको मनको नजिक कि फ्यान भएकी छु, आगामी दिनहरुमा पनि वहाँ संग सहकार्य गर्ने अवसर जुर्ने विश्वास लिएकी छु ।’

अनु विज्ञातीका एकदमै प्रेमिल भाव रहेको सुन्दर शब्दलहरीमा आफ्नो स्वर तथा संगीत मिसाउन पाउनुलाई खुसीको क्षण सम्झने गायिका तथा संगीतकार बबिना भट्टराई स्वर तथा संगीतद्धारा गीतलाई न्याय गर्ने कोशिश गरेको र आफ्नो कोशिश तथा प्रयास के कस्तो रह्यो मुल्याकंन गर्ने जिम्मा दर्शक, श्रोतालाई छोड्दै सल्लाह र सुझावको अपेक्षा राखेको भाव सहित आफ्नो सामाजिक संजाल फेसबुकमा गीत शेयर गरेकी छिन् । अनु विज्ञातीका यी शब्दहरुमा संगीत भरेर म्युजिक नेपालको स्टुडियोमा गाउँदा आँफू पनि शब्दहरु संगै बहेको, शब्दहरुले मनको भित्री कुना कुनामा प्रेमिल भाव झंक्रित भएको अनुभव संगाल्न पाएको उनी बताउँछिन् । धेरै पुरुष गीतकारहरुको शब्दमा काम गरेकी उनी अनु विज्ञाती जस्तो प्रतिभावान र राम्रा शब्दहरु लेख्ने गीतकारका शब्दहरुमा सहकार्य गर्न पाउँदा सन्तुष्टिको फरक अनुभूति संगाल्ने अवसर पाएको र आगामी दिनहरुमा पनि विज्ञातीका शब्दहरुमा काम गर्ने अवसर जुर्ने अपेक्षा राखेकी छिन् ।

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् । भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् ।

गीत
यो कस्तो अनौठो आभास भयो
अचानक शिशिरमा मधुमास भयो ।

झुल्के घामको पहिलो किरण उसकै शिरमा पारु परु जस्तो
इन्द्रेणीको रङ्ग सारा उसकै मुस्कानमा सारु सारु जस्तो
यो कस्तो अनौठो आभास भयो
अचानक जीवनमा केहि खास भयो ।

कल्पनाको संसारमा सम्झना यी छरु छरु जस्तो
संसारको खुसीहरु उसै भित्र भरु भरु जस्तो
यो कस्तो अनौठो आभास भयो
अचानक यो मन किन कपास भयो ।

ढुकढुकीमा सधैभरि उसैलाई नै सुनौ सुनौ जस्तो
गोरेटोमा हिँड्ने यात्री उसैलाई नै चुनौ चुनौ जस्तो
यो कस्तो अनौठो आभास भयो
अचानक यो दिल किन बदमास भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button