मूल खबर

इन्धन भण्डार बनाउन जग्गा उकास

तस्बिर: गोरखापत्र

लक्ष्मी सापकोटा

काठमाडौँ । रुपन्देहीको भैरहवामा इन्धन भण्डारणगृह निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने काम अन्ति चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकाबिचमा रहेको १४ बिघा जग्गामा भण्डारणगृह निर्माणका लागि जग्गा उकास गर्ने तथा पर्खाल लगाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

तीन महिनालाई पेट्रोलियम पदार्थको भण्डारणगृह निर्माण गर्ने सरकारको नीति अनुरूप नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा सहायक प्रबन्धक तेजराज तिमिल्सेनाले जग्गा सम्याउने र रिटेनिङ वाल निर्माणको काम अन्तिम चरण पुगेको जानकारी दिनुभयो। जग्गामा पर्खाल लगाउने काम सकिएपछि भण्डारणगृह निर्माणको काम सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

खोलाको छेउमा रहेको जग्गामा ठाउँ अनुसार चार देखि छ मिटर रिटनिङ वाल लगाउने काम सम्पन्न भएको उहाँले जनकारी दिनुभयो । आगामी मङ्सिरदेखि सो स्थानमा भण्डारणगृह निर्माणको मुख्य कार्य सुरु गरिने उहाँले जानकारी दिनुभयो । तीन अर्ब लागतमा इन्धन भण्डारणगृह निर्माण गर्न लागिएको निगमले जनाएको छ ।

रोहिणी खोला किनारमा जग्गा भएकाले खोलाको पानी आउन नदिन अहिले जग्गा सम्याएर चारदेखि छ मिटर माथि उठाइएको छ । निगमले २०७५ सालमा रुपन्देहीको रोहिणी खोलानजिकै प्रतिकट्ठा १० लाख ५३ हजार रुपियाँका दरले १४ बिघा जग्गा खरिद गरेको थियो। सो जग्गा खरिद प्रकरणमा तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले २२ करोड ५५ लाख रुपियाँ भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको थियो ।

यो भण्डारणगृहमा दुई हजार एक सय किलोलिटरका तीन वटा डिजेलका ट्याङ्की, एक हजार छ सय किलोलिटरका दुई वटा पेट्रोलका ट्याङ्की र ७० किलोलिटर क्षमताका तीन वटा पानीको ट्याङ्की निर्माण हुने छन् ।

निगमका अनुसार खोला किनारमा भण्डारणगृह निर्माण गर्न मिल्ने/नमिल्नेबारे हाइड्रोलोजिक विज्ञलाई अध्ययन गर्न लगाइएको थियो । काठमाडौँ विश्वविद्यालयले पछिल्लो ५० वर्षका खोला, कटान र पानीको बहावबारे अध्ययन गरी प्रतिवेदन दिएको थियो । हाल एक हप्तालाई पुग्ने भण्डारण क्षमता रहेकोमा नयाँ भण्डारणगृह निर्माण भएपछि लुम्बिनी प्रदेशको २० दिनको माग धान्ने छ ।

सरकारको नीति अनुरूप प्रत्येक प्रदेशमा तीन/तीन महिनालाई पुग्ने भण्डारणगृह निर्माण गर्न निगमले भैरहवा, चितवन, सर्लाही र झापामा जग्गा गरिद गरेको थियो । सो अनुरूप पहिलो चरणमा भैरहवामा पूर्वाधार निर्माणको काम अगाडि बढाइएको हो ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button