खबरहेड लाइन

अर्थतन्त्रका बाह्य सूचक बलिया

काठमाडौँ, मङ्सिर ५ गते । अर्थतन्त्रका बाह्य सूचकहरू निरन्तर सबल र सकारात्मक बन्दै गएका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन, रेमिट्यान्स आप्रवाह सकारात्मक बन्दै गएको देखिएको हो ।

राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार राष्ट्र बैङ्कको ढुकुटीमा साढे १६ अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा सञ्चिति भएको छ । जुन पछिल्लो पाँच वर्षयताकै उच्च हो ।

चालु आवको असोज मसान्तसम्म मुलुकमा १६ अर्ब ६० करोड अमेरिकी डलर जम्मा भएको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८.७ प्रतिशतले बढी हो । राष्ट्र बैङ्कका अनुसार २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले वृद्धि भई २०८१ असोज मसान्तमा २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १९ खर्ब ८८ अर्ब पुगेको प्रतिवेदनमा उल्लेख छ । बैङ्क तथा वित्तीय संस्था (राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा २६.९ प्रतिशतले वृद्धि भई दुई खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ । २०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

चालु आवको पहिलो तीन महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।

चालु खाता एवं शोधनान्तर स्थिति बचतमा

समीक्षा अवधिमा चालु खाता एक खर्ब ११ अर्ब ८७ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बचत ५९ अर्ब ६५ करोड रुपियाँ थियो ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर दुई अर्ब कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) चार अर्ब ८१ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर एक अर्ब १५ करोड कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) तीन अर्ब ३८ करोड रहेको थियो ।

यस्तै समीक्षा अवधिमा शोधनान्तर स्थिति एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ६६ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ३८ करोडले बचतमा रहेको छ ।

रेमिट्यान्समा रेकर्ड

चालु आवको तीन महिनामा चार खर्ब सात अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको छ । समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ११.५ प्रतिशतले बढेको राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २५.८ प्रतिशतले बढेको थियो ।

असोजमा मात्रै एक खर्ब ४४ अर्ब १७ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ, जुन हालसम्मकै उच्च हो । भदौमा मात्रै एक खर्ब २६ अर्ब २१ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको थियो भने गत साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह तीन अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह दुई अर्ब ७६ करोड रहेको थियो ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button