स्वास्थ्यहेड लाइन

सामाजिक समस्या बन्दै कुकुरको टोकाइ

सरोज ढुङ्गेल

काठमाडौँ, पुस १ गते । राजधानीमा भुसिया कुकुर सामाजिक समस्या बन्दै गएको छ । काठमाडौँको त्रिपुरेश्वरमा काम गर्ने सन्तोष पौडेल मूलपानीमा बस्नुहुन्छ । कार्यालयबाट मूलपानी पुग्दा रातिको ८ बजे उहाँलाई बाटोमा समूहमा बसेका कुकुर झम्टिन आइहाल्छन् । सन्तोषलाई कुकुरबाट बचेर घर पुग्नुपर्ने बाध्यता छ ।

यस्तै मैतीदेवी बस्ने अनिल शर्र्मा राति ९ बजे डेराघर पुग्ने बेलामा मैतीदेवीमा कुकुरले टोकेको कहिल्यै बिर्सनुहुन्न । उहाँले तत्काल स्वास्थ्यकर्मीको सल्लाह लिएर टेकु अस्पतालमा गएर रेबिजविरुद्धको खोप लगाएको बताउनुभयो । कुकुरको त्रास सन्तोष र अनिललाई मात्र नभएर अधिकांशलाई छ । बिहानै कलेज जाने विद्यार्थीदेखि बेलुकी कार्यालयबाट फर्कनेलाई कुकुरसँग डराएर हिँड्नुपर्ने बाध्यता छ ।

बर्सेनि सय जनाको मृत्यु

कुकुरको टोकाइबाट नेपालमा बर्सेनि करिब एक सय व्यक्तिको मृत्यु हुने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । कुकुरले टोकेपछि रेबिजविरुद्धको सुई नलगाउँदा मानिसको मृत्यु भइरहेको छ ।

शुक्रराज ट्रपिकल अस्पतालका अनुसार एक वर्षमा ६८ हजार ४१५ जना कुकुरले टोकेका बिरामी ओपिडीमा आएका थिए ।

अस्पतालका रेकर्ड अधिकृत समीर अधिकारीका अनुसार २०८० साउनमा चार हजार ८८५, भदौमा चार हजार ४२८, असोजमा चार हजार ७३१, कात्तिकमा पाँच हजार ९९, मङ्सिरमा चार हजार ७५४, पुसमा पाँच हजार ९९, माघमा चार हजार ९३७, फागुनमा चार हजार ९७९, चैतमा छ हजार २६, २०८१ जेठमा छ हजार ४४८, असारमा छ हजार ७४ जना ओपिडीमा भर्ना भएका थिए । उहाँका अनुसार गत वर्ष अस्पतालभित्रै रेबिज लागेर १४ जनाको मृत्यु भएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमन्तचन्द्र ओझाले नेपालमा यो समस्या विकराल बन्दै जाने अवस्था रहेको बताउनुभयो ।

उहाँले रेबिजको लक्षण देखिएपछि मानिसको मृत्यु निश्चित हुने भएकाले चिकित्सकको काउन्सिलिङपछि आफन्तले बिरामीलाई घर लैजाने गरेको बताउनुभयो । घर लगेर मृत्यु भएको तथ्याङ्क सरकारसँग नहुने डा. ओझाको भनाइ छ ।

उहाँले रेबिजबारे जनचेतनाको अभाव रहेको जानकारी पनि दिनुभयो । उहाँले कुकुरले टोकेको हो, सामान्य घाउ छ, केही हुन्न भन्ने भ्रमले गर्दा धेरैको मृत्यु हुने गरेको बताउनुभयो । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले रेबिजको लक्षण देखापरेको एक साताभित्र बिरामीको मृत्यु हुने गरेको जानकारी दिनुभयो । उहाँले टेकु अस्पतालमा मात्र दैनिक सात सय जनाले रेबिजविरुद्धको खोप लगाउने गरेको बताउनुभयो ।

डा. पुनका अनुसार रेबिज एक घातक भाइरल सङ्क्रमण हो, यसलाई न्युरोट्रोपिक भाइरस भनिन्छ । जुन छाडा कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्छ । रेबिजबाट बच्नका लागि सम्भावित जोखिमपछि तुरुन्तै खोप लगाउनु आवश्यक हुन्छ । रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट सुरु हुन्छ र प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ । कुकुर, बिरालो जस्ता घरपालुवा जनावर वा जङ्गली जनावरलाई छुँदा वा खुवाउँदा धेरै सावधानी अपनाउन उहाँको सुझाव छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button