स्वास्थ्यहेड लाइन

‘असावधानीले हिटर ताप्दा ज्यानै जान सक्छ’

सांकेतिक तस्विर

सिर्जना खत्री

काठमाडौं, पुस ८ गते । चिसो दिन प्रतिदिन बढ्दै गइरहेको छ । चिसो बढेसँगै शरीरलाई न्यानो बनाइ राख्न दाउरा, कोइला, मकलको प्रयोग गरी आगो बाल्ने, हिटर बाल्ने गरिन्छ । त्यस्तै, तातो पानीने नुहाउन ग्यास गिजरको प्रयोग गरिन्छ । के तपाईंलाई थाहा छ, चिसोबाट बच्न अपनाइने यस्ता उपकरण प्रयोग गर्दा हेलचेक्राइँ गरियो भने ज्यानै जान सक्छ ।

झ्याल ढोका थुनेर आगो, हिटर बालेर बस्दा हरेक वर्ष निसासिएर अकालमै ज्यान गुमाउने गर्छन् । आगो, हिटरनजिकै बस्दा स्वास्थ्यमा नकारात्मक असर पुग्ने चिकित्सक बताउँछन् । छातीरोग विशेषज्ञ डा. प्रकाश पौडेलले जाडो मौसममा हिटर गिजरको प्रयोग गर्दा निसासिएर थुप्रै बिरामी अस्पतालमा आउने बताउनुहुन्छ ।

ग्यास हिटर, ग्यास गिजर, मकल, आगो, गुइँठा बल्ने क्रममा कोठाभित्र भएको अक्सिजनको मात्रा घटाइदिन्छ ।
दीर्घरोगी, एलर्जीका रोगी, दम, श्वासप्रश्वास, छातीका समस्या भएका बिरामीले हिटर ताप्दा खोकी लाग्ने, स्वाँस्वाँ हुनेजस्ता समस्या झन् बढ्ने छातीरोग विशेषज्ञ डा. पौडेलको भनाइ छ । ग्यास हिटर, ग्यास गिजर, मकल, आगो, गुइँठा बल्ने क्रममा कोठाभित्र भएको अक्सिजनको मात्रा घटाइदिन्छ । यस्तो हिटरबाट कार्बन मोनोअक्साइडयुक्त विषालु ग्यास निस्कने गर्छ, जसले अक्सिजनको मात्रा कम गरी मस्तिष्कमा क्षति पुग्ने चिकित्सकहरुको भनाइ छ ।

कोठा बन्द गरेर हिटर, आगो ताप्दा कोठाको हावा सुख्खा हुने गर्छ । लामो समयसम्म हिटर, आगो ताप्दा छाला, आँखा सुक्खा बनाई ओठ सुख्खा भई फुट्ने, नाक सुख्खा हुने, रगत बग्ने, छाला फुस्रो हुने फुट्नेजस्ता स्वास्थ्य समस्या निम्त्याउने वरिष्ठ छालारोग विशेषज्ञ प्राडा. धर्मेन्द्र कर्ण बताउनुहुन्छ ।

हिटर बाल्दा अनिवार्य रुपमा एउटा भाडोमा पानी राख्न उहाँको सुझाव छ । कम्तीमा दुई वा तीन मिटरको दूरीमा राखेर हिटर ताप्न उहाँले आग्रह गर्नुभयो । सरुवारोग विशेषज्ञ डा. मिलन बज्राचार्य हिटर बालेर झ्याल ढोका बन्द गरेर सुत्दा झनै घातक हुने हुँदा सावधानी अपनाउन अनुरोध गर्नुभयो । हिटर निस्किएको कार्बोमोनोअक्साइडको असरले मृत्यु हुने गर्छ ।

बन्द कोठामा अक्सिजनको मात्रा कम हुँदै गएपछि टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, मन्द बेहोसी हुनेजस्ता लक्षण देखिने चिकित्सक बताउँछन् ।
बन्द कोठामा अक्सिजनको मात्रा कम हुँदै गएपछि टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, मन्द बेहोसी हुनेजस्ता लक्षण देखिने चिकित्सक बताउँछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जाडोमा शरीर वा कोठालाई न्यानो बनाइ राख्न आगो ताप्ने, हिटर बाल्ने गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

केन्द्रले हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न आग्रह गरेको छ । आगो ताप्दा वा हिटर तापिसकेपछि सुत्नुअघि अनिवार्य निभाउन केन्द्रकोे सुझाव छ । गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्न केन्द्रका अधिकारीहरुले आग्रह गर्नुभएको छ ।गोरखापत्र अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button