खबरहेड लाइन

ऊर्जा खपत विस्तारमा जोड

काठमाडौँ, माघ ५ गते । ऊर्जाविज्ञले सरकारले विद्युत्को आन्तरिक खपत विस्तारमा ध्यान दिनुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) को २५ औँ रजतजयन्तीको अवसरमा आयोजित ‘सेपिङ दी फ्युचरस् स्टार्टेजी एन्ड रोडम्याप फर इनर्जी सेक्टर’ शीर्षकमा भएको छलफलमा विज्ञहरूले आन्तरिक खपत बढाउँदा दीर्घकालमा नेपाललाई विद्युत् निर्यातभन्दा फाइदाजनक हुने बताएका हुन् ।

पूर्वअर्थसचिव रामेश्वर खनालले प्रसारण लाइनमार्फत उत्तर र दक्षिण बजारसँग गाँसिनु उपयुक्त भए पनि विद्युत् व्यापारभन्दा देशभित्रकै खपतले अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकभरिको भान्सालाई विद्युतीय बनाउन सकिए नेपालको अर्थतन्त्रलाई ठुलो योगदान पुर्‍याउँछ । त्यसले दीर्घकालमा ठुलो फाइदा पुर्‍याउँछ ।”

ऊर्जाविज्ञ प्रबल अधिकारीले ऊर्जा विकास मार्गचित्र निजी क्षेत्रमैत्री रहेको दाबी गर्दै यसले ऊर्जा निर्यात मात्र नभई खपत विस्तार तथा गुणस्तर प्रवर्धनको लक्ष्य राखेको उल्लेख गर्नुभयो । यो मार्गचित्र कार्यान्वयनका लागि सबै राजनीतिक दलको साझा दस्ताबेज बन्नुपर्ने, ऊर्जा क्षेत्रमैत्री सरकार र अदालत, निजी क्षेत्रमैत्री विद्युत् ऐन चाहिने उहाँको भनाइ छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकास मार्गचित्रमा १३ हजार पाँच सय मेगावाट आन्तरिक खपतको योजना राखेको भन्दै उक्त लक्ष्य सहजै पूरा हुने दाबी गनुभयो ।

ऊर्जा विकास मार्गचित्र कार्यान्वयनका लागि पुराना कानुनले जटिलता आउन सक्ने भन्दै सचिवस्तरीय कमिटी बनाएर अध्ययन गरिरहेको औँल्याउनुभयो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली इनर्जी बन्ड, पूर्वाधार बन्डलगायत वैकल्पिक फाइनान्सिङ कार्यान्वयनका लागि ऐनको मसौदा भइरहेको जानकारी गराउनुभयो ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button