मूल खबरहेड लाइन

अभियानले पनि हटेन छाउप्रथा

महिनावारी भएका बेला छाउगोठमा बसेका महिला ।

शेरबहादुर सार्की

बाजुरा, माघ १४ गते । बाजुराका अधिकांश गाउँबस्तीमा छाउप्रथा अझै कायमै छ । यहाँका महिला महिनावारी भएका बेला धामीझाँक्री तथा देवता रिसाउँछन् भन्दै अहिले पनि छाउगोठमा सुत्न बाध्य छन् । महिनावारी भएको बेला महिलालाई यहाँका धामीझाँक्री तथा स्थानीयले घरमा बास गर्दा देवता रिसाउने तथा घरमा नराम्रो हुने गरेको भन्ने डर देखाउँदै आएकाले उनीहरू घरभन्दा टाढा चिसो गोठमा सुत्न बाध्य हुने गरेका छन् ।

महिनावारी भएपछि घर बस्न त के गाउँमा रहेका मठमन्दिरनजिकको बाटोमा आउजाउ गर्नसमेत रोकावट गर्ने गरेको बुढीगङ्गा नगरपालिका–१०, तिमाडाकी स्थानीय राधिका विक (नाम परिवर्तन) ले बताउनुभयो । उहाँले भन्नुभयो, “छाउगोठमा बस्नु हुँदैन भनेर स्थानीय तहले विभिन्न गाउँटोलमा जनचेतनामूलक सन्देश दिँदै आएका छन् तर त्यसको कुनै सुनुवाइ नै भएको छैन ।”

छाउप्रथा अन्त्यका लागि स्थानीय सरकारले घरदैलो अभियानसमेत गरेका थिए तर स्थानीयको बोलीमा छाउप्रथा हटेको भए पनि व्यवहारमा भने उस्तै रहेको विकले बताउनुभयो । सबैभन्दा बढी बुढीगङ्गा नगरपालिका–१० को सेलापाखा, बदेडा, तिमाडा, झाली, नुवाकोट, सिगाडालगायतका गाउँबस्तीमा छाउप्रथा कायमै छ । यहाँका स्थानीय तहले छाउप्रथा अन्त्य गर्नका लागि लाखौँ रुपियाँ खर्च गरेर पनि यो अन्त्य भएको छैन । यहाँका महिला महिनावारी हुँदा राम्रो ठाउँमा सुत्न, मिठो खान, दुध, दही, महीसमेत खान पाउँदैनन् । दुहुनो गाईभैँसीलाई छुन दिँदैनन् । छोयो भने सुनपानी छर्केर गाईभैँसीलाई चोख्याउने प्रचलन कायमै छ ।

२०७६ मा बुढीनन्दा नगरपालिका–९, पान्डुसैनमा छाउगोठमा सुत्दा आमा र दुई छोरासहित तीन जनाको ज्यान गएको थियो । त्यसपछि छाउप्रथा ‘कुप्रथा’ हो भन्दै बाजुराका विभिन्न स्थानीय तहमा छाउप्रथा उन्मूलन कार्यक्रम सञ्चालन गरिएको थियो । त्यो अभियानले बाजुराका नौ वटै स्थानीय तहका ५११ वटा छाउगोठ भत्काएको थियो । यता गोठ भत्किए पनि यहाँका स्थानीयको व्यवहारमा भने छाउप्रथा कायम रहँदै गएपछि अहिले यसले व्यापकता लिँदै गएको हो ।

महिनावारी हुँदा देवताको डरले घरभन्दा धेरै टाढा छाउगोठमा सुत्दा गाउँका कैयौँ दिदीबहिनी बलात्कृत भएका छन् । धेरैको जीवन बर्बाद भयो तर पनि यो प्रथा गलत हो भन्ने कुरामा गाउँमा कसैको ध्यान नजाँदा अहिलेका बालिकालाई समेत दुःख भोग्नुपरेको हो ।

धेरै पटक कार्यक्रम गर्नु पर्छ भनेर नगरपालिकामा प्रस्ताव राख्दै आएको बताउँदै बुढीनन्दा नगरपालिका महिला शाखा प्रमुख गङ्गा गिरीले भन्नुभयो, “अहिलेसम्म त्यसको कुनै किसिमको सुनुवाइ भएको छैन । केही वर्ष पहिला भत्काइएका छाउगोठ धमाधम पुनर्निर्माण गरिन थालिएको छ । स्थानीयको मानसिकतामा परिवर्तन ल्याउन नसकिएसम्म छाउप्रथा हट्न सक्दैन ।”

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button